काठमाडौं । बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका छविलाल जोशी धरौटीमा रिहा भएका छन्।
नेपाल प्रहरीका पूर्व डीआईजी जोशी सहकारीको रकम ठगी तथा संगठित अपराध मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँगै थुनामा थिए। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रविलाई शुक्रबार धरौटी तथा बिगोबापत उनको भागमा पर्ने जमानत लिएर रिहा गर्न आदेश दिएको थियो। तर, छविलाल जोशीको हकमा भने निवेदन परेपछि मात्र पुनर्विचार गर्न सकिने भन्दै मुद्दा जिल्ला अदालत रुपन्देहीमै पठाइएको थियो।
सोही आदेशअनुसार जोशीको तर्फबाट शुक्रबार निवेदन दर्ता गरिएकामा आइतबार बहसपछि जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो। रुपन्देही जिल्ला अदालतका अनुसार जोशीले एकमुष्ट तीन करोड रुपैयाँ बैंक जमानत बुझाएपछि आइतबार रिहा भएका हुन्।
जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी पदम अर्यालले उच्च अदालतको आदेशअनुसार जोशीले निवेदन दिएको र आइतबारको इजलासले जमानत बुझाएर थुनामुक्त गर्न आदेश दिएपछि बैंक ग्यारेन्टी बुझाएर रिहा गरिएको जानकारी दिए।
यसअघि जिल्ला अदालतले रवि लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश गर्दा जोशीलाई भने थुनामै राख्ने आदेश दिएको थियो। सो आदेशविरुद्ध उच्च अदालत बुटवल इजलास पुगेका जोशीलाई उच्चले जिल्ला अदालतकै आदेश सदर गर्दै थुनामै राख्ने निर्णय गरेको थियो। सर्वोच्च अदालतले पनि जिल्ला र उच्च दुवैको आदेश सदर गरेको थियो।
पछि रवि र छविलाल दुवैले बिगोबापत धरौटी राखेर रिहा गर्न माग गर्दै पुनः निवेदन दिएका थिए। जिल्ला अदालतले उक्त निवेदन अस्वीकार गरे पनि उच्च अदालतले जिल्लाको आदेश बदर गर्दै धरौटीमा रिहा भएर मुद्दा लड्न सक्ने बाटो खोलिदिएको हो।
प्रकाशित मिति: ७ पुस २०८२, सोमबार












प्रतिक्रिया