काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आगामी १५ औँ महाधिवेशनमा पार्टी सभापति पदका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्। सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सभापतिको उम्मेदवार बन्ने र पार्टीको नेतृत्व सम्हाल्ने दाबी गरे।
थापाले महाधिवेशनलाई केवल नेतृत्व परिवर्तनको माध्यम मात्र नभई कांग्रेसलाई पूर्ण रूपमा नयाँ र गतिशील बनाउने अवसरका रूपमा हेरिएको बताए। उनले पार्टीभित्र महाधिवेशन टार्ने प्रयास भइरहेकामा कडा आपत्ति व्यक्त गर्दै, तल्लो तहबाट क्रियाशील सदस्यहरूको नामावली ढिलाइका कारण नियोजित रूपमा महाधिवेशन ढिला गराउन खोजिएको आशङ्का व्यक्त गरे।
महामन्त्रीको हैसियतमा सभापति शेरबहादुर देउवालाई समयमै महाधिवेशन गर्न स्पष्ट रूपमा आग्रह गर्दै थापाले भने, “जुनसुकै मूल्य चुकाउनुपरे पनि आगामी आम निर्वाचनअघि नै कांग्रेसको महाधिवेशन हुनुपर्छ। महाधिवेशन बिना कांग्रेस चुनावमा जान सक्दैन।”
थापाले तल्लो तहका क्रियाशील सदस्यहरूबाट आवश्यक कामहरू भइरहेको नदेखिनुमा चिन्ता व्यक्त गर्दै भने, “अहिले तलबाट कामहरू हुँदै गर्दा ठाउँ–ठाउँबाट सदस्य पठाइदिनुपर्ने कुरा ठिक रूपमा भइरहेको छैन। तर म कसैलाई दोष दिन्न। अझै समय छ र गर्न सकिन्छ भन्ने विश्वास छ। पत्रपत्रिकामा देखिएको जस्तो ‘अब यो भ्याइँदैन’ भन्ने अवस्था छैन। समयमै अधिवेशन सम्पन्न गर्न सकिन्थ्यो, तर कतिपय ठाउँमा अलि ढिलाइ भइरहेको देखिन्छ। यो विषयमा हामी पार्टी नेतृत्वलाई स्पष्ट रूपमा जानकारी गराइरहेका छौँ। हामी जुनसुकै मूल्य चुकाउन पनि तयार छौँ।
प्रकाशित मिति: ७ पुस २०८२, सोमबार













प्रतिक्रिया