काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीको १५औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेका छन्।
आफू निर्वाचित क्षेत्र काठमाडौं–४ का नेता तथा कार्यकर्तासँगको छलफलका क्रममा महामन्त्री थापाले सभापतिमा प्रतिस्पर्धा गर्ने स्पष्ट घोषणा गरेका हुन्। उनले आफू सभापति बन्ने दृढ इच्छा र आत्मविश्वास व्यक्त गर्दै पार्टीको नेतृत्व सम्हाल्ने तयारीमा रहेको बताए।
महाधिवेशन केवल नेतृत्व परिवर्तनका लागि मात्र नभई कांग्रेसलाई नयाँ सोच र संरचनासहित अघि बढाउने अवसर भएको उनको भनाइ छ। पार्टीभित्र क्रियाशील सदस्यता नवीकरण तथा व्यवस्थापनको काम ढिलो भइरहेकोप्रति उनले असन्तुष्टि जनाए। यद्यपि, महाधिवेशन समयमै सम्पन्न हुनेमा आफू आशावादी रहेको उनले बताए।
महामन्त्रीको हैसियतले सभापति शेरबहादुर देउवालाई महाधिवेशन तोकिएकै समयमा गर्नुपर्ने आवश्यकता बारे निरन्तर ध्यानाकर्षण गराइरहेको उल्लेख गर्दै थापाले यस विषयमा आफ्नो धारणा स्पष्ट र दृढ रहेको बताए। उनले समयमै अधिवेशन हुनसक्ने अवस्था हुँदाहुँदै पनि विभिन्न कारणले ढिलाइको संकेत देखिएको भन्दै पार्टी नेतृत्वलाई यसप्रति गम्भीर हुन आग्रह गरे।
उनले नियमित वा विशेष अधिवेशन जुनसुकै रूपमा भए पनि महाधिवेशन अनिवार्य रहेको बताए। महाधिवेशन बिना कांग्रेस निर्वाचन प्रक्रियामा सहभागी नहुने स्पष्ट सन्देश दिँदै थापाले पार्टीको लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउन अधिवेशन अपरिहार्य रहेको धारणा राखे।
प्रकाशित मिति: ७ पुस २०८२, सोमबार












प्रतिक्रिया