काठमाडौं । जेनजी आन्दोलनपछिको परिस्थितिलाई सहज र सुरक्षित बनाउने सन्दर्भमा नेपाली सेनाले राष्ट्रपति र कार्यपालिकाको निर्णय अधिकारको पूर्ण सम्मान गरेको उल्लेख गरेको छ। सेनाले संकट व्यवस्थापनमा सरोकारवालाबीच संवादको वातावरण सिर्जना गर्नु जिम्मेवार निकायको प्रमुख दायित्व भएको पनि स्पष्ट पारेको छ।
सेनाको जंगी अड्डामा प्रकाशित लेख अनुसार, ‘संकटको घडीमा सेनाले गरेको संयोजन र संवादका सकारात्मक प्रयासहरूमा प्रश्नहरू उठाइए पनि, सेनाले कुनै राजनीतिक एजेन्डा अघि सारेको छैन, न त सत्ता हस्तक्षेपको आकांक्षा देखाएको छ। हाल विकसित परिस्थितिले यही स्पष्ट प्रमाणित गरेको छ। यही तथ्य नै सेनाको लोकतान्त्रिक प्रतिबद्धताको परिचायक हो।’
लेखमा संविधानको अक्षर र मर्म दुवैको पालना सेनाले गरेको उल्लेख गर्दै भनिएको छ, ‘सेना संविधानप्रति निष्ठावान् छ, स्थापित सरकारको अधीनमा रहँदै राष्ट्रिय एकता र सुरक्षा कायम राख्न प्रतिबद्ध छ। सेनामा राजनीतिक महत्त्वाकांक्षा नभएको स्पष्ट छ; तत्कालीन राजनीतिक शून्यतालाई अन्त्य गर्न सहजीकरण गरेको मात्रै हो। यदि सेनामा राजनीतिक महत्त्वाकांक्षा हुन्थ्यो भने आजको अवस्था हामीले भोग्नु नपर्ने थियो।’
सेनाले हालको अवस्थाको वस्तुपरक मूल्याङ्कन गर्दै सुरक्षा निकायलाई बलियो बनाउनु राष्ट्रहितमा भएको समेत उल्लेख गरेको छ। ‘परिस्थितिको सतही दृष्टिले होइन, वस्तुपरक ढङ्गले विश्लेषण गरी नेपाली सेनासहित सबै सुरक्षा निकायलाई बलियो बनाउनु राष्ट्रको हितमा छ।’
साथै, २४ भदौमा सेना प्रमुखको सन्देशमा पृथ्वीनारायण शाहको तस्वीर प्रयोग भएपछि विभिन्न आलोचना आएको विषयमा जंगी अड्डाले स्पष्ट पारेको छ, ‘पृथ्वीनारायण शाह आधुनिक नेपालको निर्माता र राष्ट्रिय एकताको प्रतीक हुन्। संकटको क्षणमा राष्ट्रिय एकता, सार्वभौमसत्ता र अखण्डताको स्मरण गराउनु राजनीतिक सन्देश होइन, राष्ट्रिय चेतनाको आह्वान हो। राष्ट्र निर्माता कुनै पनि तन्त्र वा विचारभन्दा माथि रहेको नेपालको ऐतिहासिक पहिचान हुन्।’
प्रकाशित मिति: ७ पुस २०८२, सोमबार













प्रतिक्रिया