काठमाडौं । अभियन्ता सागर ढकालले केवल चुनाव सम्पन्न गर्नु मात्र निर्वाचन आयोगको सफलता हुन नसक्ने बताएका छन्। सोमबार (पुस ७) सिंहदरबारमा आयोजित सर्वपक्षीय छलफलमा बोल्दै उनले वर्तमान अवस्था जस्ताको त्यस्तै राखेर चुनाव गराउनुको औचित्यमाथि प्रश्न उठाए।
उनले निर्वाचन आयोगलाई लक्षित गर्दै चुनाव हुनु आफैंमा उपलब्धि ठान्न नहुने बताए। चुनाव त हुँदै आएका छन्। जस्ताको त्यस्तै अवस्था कायम राखेर किन फेरि चुनाव गराउने ? भन्ने प्रश्न गर्दै उनले निर्वाचन प्रणालीमै सुधार आवश्यक रहेको धारणा राखे।
ढकालले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्नुपर्ने, अन्तरजिल्ला मतदानको व्यवस्था लागू गर्नुपर्ने, ‘नोट भोट’ जस्ता विकल्पसहित जेनजी आन्दोलनले अघि सारेका मागहरू सम्बोधन गर्नुपर्नेमा जोड दिए।
निर्वाचनसम्बन्धी नियम परिवर्तन गर्नुपर्ने विषयमा सर्वोच्च अदालतले वर्षौँअघि निर्देशन दिइसकेको स्मरण गराउँदै उनले अब पनि ढिलाइ गर्नु उपयुक्त नहुने बताए। सात–आठ वर्ष बितिसक्यो, अझै नगरेर कहिले गर्ने ? सधैँ बहाना बनाउने काम बन्द गरौँ, उनले भने।
जेनजी आन्दोलनले उठाएका भावना र मागअनुसार अघि बढ्न सरकार डराउन नहुने भन्दै ढकालले अहिले कदम नचाले भविष्यमा सुधारको अवसर गुम्ने चेतावनी दिए।
प्रकाशित मिति: ७ पुस २०८२, सोमबार












प्रतिक्रिया