काठमाडौं । भक्तपुर नगरपालिका–३, वंशगोपाल डेगामनास्थित निर्माणाधीन एक घरमा काम गर्ने मजदुरको हत्या भएको छ। घटनामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
सोमबार बिहान करिब सवा ६ बजे निर्माणाधीन घरको भुइँतलामा सोही स्थानमा कार्यरत ३४ वर्षीय पूर्ण ठकुरी मृत अवस्थामा फेला परेका थिए।
उदयपुर स्थायी घर भएका ठकुरीको हत्यामा सोही घरमा काम गर्ने अर्का मजदुरको संलग्नता देखिएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।
पक्राउ पर्नेमा धनकुटा जिल्लाको सागुरीगढी गाउँपालिका–३ निवासी २७ वर्षीय सञ्जिव याखा रहेका छन्। प्रारम्भिक अनुसन्धानका क्रममा उनले आइतबार राति कुटपिट गरी ठकुरीको हत्या गरेको खुलेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको भक्तपुर प्रहरीले जानकारी दिएको छ।
प्रकाशित मिति: ७ पुस २०८२, सोमबार












प्रतिक्रिया