काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) बीच सोमबार साँझ भेटवार्ता भएको छ।
सहकारी ठगी प्रकरणमा नख्खु कारागारमा रहेका लामिछानेलाई अदालतले धरौटीमा रिहा गर्न आदेश दिएपछि उनी राजनीतिक गतिविधिमा सक्रिय देखिएका छन्। गत शुक्रबार उच्च अदालत बुटवलबाट रिहा भएका लामिछाने चितवन हुँदै काठमाडौँ आइपुगेका हुन्।
रास्वपा स्रोतका अनुसार लामिछाने र बालेनबीच लगातार दुई दिनमा दुई पटक भेट भएको छ। आइतबार पनि उनीहरूबीच भेट भएको थियो भने सोमबारको भेट रास्वपा केन्द्रीय सदस्य असिम साहको निवासमा भएको हो।
छलफलमा बालेनको तर्फबाट उनका सहयोगी कुमार बेन र निश्चल बस्नेत सहभागी थिए भने रास्वपाको तर्फबाट उपसभापति डीपी अर्याल र केन्द्रीय सदस्य असिम साह सहभागी थिए।
छलफल सहकार्यमा केन्द्रित रहेको बताइएको छ। सहभागी एक नेताले भने, “छलफल प्रगतिउन्मुख छ। आगामी दिनमा कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा केन्द्रित छलफल भयो।”
भेटका क्रममा आगामी निर्वाचनमा रास्वपाको तर्फबाट बालेन्द्र शाहलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने प्रस्तावसमेत राखिएको बताइएको छ।
प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार













प्रतिक्रिया