काठमाडौं । सरकारद्वारा गठन गरिएको उच्चस्तरीय राजनीतिक संवाद समितिले जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षति पुगेको नेपाली कांग्रेसको केन्द्रीय पार्टी कार्यालयको निरीक्षण गरेको छ। विभिन्न राजनीतिक दल तथा सरोकारवाला पक्षसँग संवाद गर्ने उद्देश्यले गठन गरिएको समितिले मंगलबार कांग्रेस कार्यालय पुगेर स्थलगत अवलोकन गरेको हो।

निरीक्षणका क्रममा समितिका सदस्य तथा सञ्चारमन्त्री जगदीश खरेलले आसन्न प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न सबै राजनीतिक दलको सहकार्य र सक्रिय सहभागिता अनिवार्य रहेको बताए। उनले सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने सवालमा सरकार गम्भीरतापूर्वक अघि बढिरहेको स्पष्ट पारे।

advertisement

जेन–जी आन्दोलनका क्रममा पार्टी कार्यालय पूर्ण रूपमा क्षतिग्रस्त भए पनि राजनीतिक दलहरू निर्वाचनप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै मन्त्री खरेलले आगामी चुनाव सुनिश्चित गर्न सरकार र दलबीच दोहोरो संवादको प्रयास भइरहेको बताए। चुनाव सफल बनाउन राजनीतिक स्थिरता र आपसी समझदारी आवश्यक छ, उनले भने।

समितिका संयोजक तथा कानूनमन्त्री अनिल सिन्हाले आन्दोलनका क्रममा भौतिक क्षति भए पनि मुलुकलाई निकास दिन राजनीतिक दलहरूको भूमिका निर्णायक हुने बताए। उनले तोकिएको समयमै निर्वाचन सम्पन्न गर्न दलहरूको जायज अपेक्षा पूरा गर्न सरकार तयार रहेको धारणा व्यक्त गरे।

यस अवसरमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले पार्टी निर्वाचनबाट नभाग्ने स्पष्ट पार्दै निष्पक्ष, स्वतन्त्र र सुरक्षित वातावरणमा चुनाव सम्पन्न गर्नुपर्नेमा जोड दिए। सरकारले चुनावको कुरा गरे पनि तयारीमा केही कमजोरी देखिएको उनको भनाइ थियो। उनले सरकारसँग सहमति गरेका युवाहरू नै पछि ‘चुनाव हुन दिन्नौँ’ भन्दै सडकमा देखिनु गम्भीर विषय भएको उल्लेख गर्दै ती पक्षलाई समेत विश्वासमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिए।

गुरुङले सुरक्षा निकायको मनोबल उच्च बनाउँदै फागुन २१ लाई लक्ष्य केन्द्रित गरी निर्वाचन तयारीमा केन्द्रित हुन आग्रहसमेत गरे।

उल्लेखनीय छ, मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार केही दिनअघि तीन सदस्यीय उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरिएको थियो। समितिमा सञ्चारमन्त्री जगदीश खरेल, कानूनमन्त्री अनिल सिन्हा र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहेका छन्।

प्रकाशित मिति: ८ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com