नेपाल–चीनको सीमानाका कोरलानाका जोड्ने माथिल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–२ स्थित घमी खोलामा निर्माणाधीन पुल अन्तिम चरणमा पुगेको छ ।

कालीगण्डकी कोरिडोर (बेनी–जोमसोम–कोरला) सडक आयोजनाले यहाँ निर्माणाधीन घमी खोला पुलको भौतिक प्रगति ८० प्रतिशत पुगेको र चालु आर्थिक वर्षमै सक्नेगरी काम गरिरहेको जनाइएको छ ।

advertisement

यहाँस्थित कोरला नाका जोड्ने एक स्पानको ४० मिटर लम्बाइको घमी खोला पुलको ठेक्का सम्झौता २०७५ साल पुस १९ गते भएको थियो । यहाँ पुल निर्माणका लागि हिमढुङ ठोक्कर एण्ड इमोटल जेभीले रु छ करोड ८० लाख लागतमा ठेक्का सम्झौता गरेको थियो ।

गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टका अनुसार सडकको काम सकिए पनि पुल निर्माणले लामो समयदेखि हुन सकेको थिएन । घमी खोलामा पुल सम्पन्न भएपछि सवारीसाधन सञ्चालनमा सहज हुने अध्यक्ष विष्टको भनाइ छ । सम्झौताअनुसार विसं २०७८ पुस ९ गते पुल निर्माण भइसक्नुपर्ने थियो ।

निर्माण कम्पनीले प्रतिकूल मौसम र हिमपातलगायत कारण देखाएर पुल निर्माण अलपत्र पारेको थियो । निर्माण कम्पनीलाई पटकपटक ताकेता गरिँदासमेत निर्माण कम्पनी कार्यस्थलमा नफर्किएपछि निर्माण कम्पनीलाई छ महिनाको अल्टिमेटम दिएर लागतको (०.०५) प्रतिशत जरिवाना लाग्ने गरी दैनिक हर्जाना तोकेको थियो ।

आयोजना प्रमुख तेजस्वी शर्माका अनुसार कोरला नाका जोड्ने (बेनी–जोमसोम–कोरला)सडकमा १४ वटा पुल सम्पन्न भइसकेका छन् । माथिल्लो मुस्ताङको घमी खोला पुल पनि चालु आवमै सम्पन्न हुनेछ ।

प्रकाशित मिति: ९ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com