काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा जेनजी आन्दोलन उत्पन्न हुनुका मुख्यतः तीन आधारभूत कारण रहेको बताएका छन्। भारत भ्रमणका क्रममा एक भारतीय टेलिभिजन च्यानललाई दिएको अन्तर्वार्तामा उनले जेनजी आन्दोलन र त्यसपछिको राजनीतिक तथा सामाजिक अवस्थाबारे आफ्नो दृष्टिकोण सार्वजनिक गरेका हुन्।

एनडीटीभीसँगको कुराकानीमा डा. भट्टराईले गत भदौमा देखिएको जेनजी विद्रोह स्वाभाविक र औचित्यपूर्ण भएको धारणा व्यक्त गरे। उनका अनुसार सामाजिक र आर्थिक असमानताले युवामा गहिरो असन्तोष सिर्जना गर्दै आएको छ, जसको परिणामस्वरूप उक्त आन्दोलन जन्मिएको हो।

advertisement

जेनजी आन्दोलनको पहिलो कारणका रूपमा उनले युवामा व्यापक बेरोजगारी र गुणस्तरीय शिक्षाको अभाव औँल्याए। रोजगारीका अवसर नहुनु र शिक्षा प्रणाली अपेक्षाअनुसार नहुनुले युवा पुस्ता निराश र आक्रोशित बनेको उनको भनाइ छ।

दोस्रो प्रमुख कारणका रूपमा उनले राज्य संयन्त्रभित्र व्याप्त भ्रष्टाचारलाई उल्लेख गरे। सरकारी तहमा मौलाएको भ्रष्टाचारप्रति जनआक्रोश बढ्दै जाँदा त्यसको प्रभाव युवामाथि अझ गहिरो रूपमा परेको उनको ठहर छ।

तेस्रो कारणका रूपमा तत्कालीन सरकारले सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्धलाई उनले औँल्याए। अभिव्यक्तिको स्वतन्त्रतामाथि हस्तक्षेप भएको ठान्दै ठूलो संख्यामा युवा सडकमा उत्रिन बाध्य भएको उनले बताए।

डा. भट्टराईले हालै जेनजी प्रतिनिधि र सरकारबीच भएको सम्झौताको पनि खुलेर प्रशंसा गरेका छन्। नेपालको कानुनअनुसार उम्मेदवार बन्न न्यूनतम उमेर २५ वर्ष तोकिएको सन्दर्भ उल्लेख गर्दै उनले जेनजीसँगको सहमतिपछि उक्त उमेर सीमा घटाएर २१ वर्ष पुर्‍याउने सहमति हुनु सकारात्मक कदम भएको बताए। यसले युवालाई संसदीय राजनीतिमा सहभागी हुन थप सहज वातावरण बनाउने उनको भनाइ छ।

पुराना राजनीतिक दलहरूबाट अब देशमा गहिरो सुधार सम्भव नरहेको जिकिर गर्दै डा. भट्टराईले वैकल्पिक राजनीतिक शक्तिका रूपमा नयाँ दलहरू उदाउँदै गएको बताए। आगामी निर्वाचनमा यस्ता वैकल्पिक शक्तिहरूबीच गठबन्धनको सम्भावना रहेको समेत उनले संकेत गरे।

अन्त्यमा उनले अबको राजनीतिक यात्रा युवाकै नेतृत्वमा अघि बढ्नुपर्ने स्पष्ट पार्दै, युवा शक्तिलाई अगाडि ल्याउनु आजको आवश्यकता भएको धारणा व्यक्त गरे।

प्रकाशित मिति: ९ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com