काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र कमल थापा नेतृत्वको अलग्गै राप्रपाबीच एकता हुने सहमति भएको छ।

निर्वाचनको मिति नजिकिँदै गर्दा राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र थापा नेतृत्वको समूहबीच आपसी सहकार्य र एकतामा अघि बढ्ने समझदारी बनेको हो।

advertisement

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार दुवै पक्षले बद्लिँदो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै मिलेर जाने निष्कर्ष निकालेका छन्।

बुधबार राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले दुई पक्षबीच एकताका विषयमा सहमति गरेको हो। बैठकमा दुवै राप्रपाका नेताहरू सहभागी थिए। पूर्वअध्यक्षसमेत रहेका कमल थापा गत महाधिवेशनमा पराजित भएपछि पार्टी छाडेर अलग राजनीतिक दल गठन गरेका थिए। २०७८ साल माघमा पार्टीभित्र सैद्धान्तिक विचलन आएको भन्दै बाहिरिएका थापा अहिले पुनः मूल धारमै फर्किन तयार देखिएका छन्।

थापाले त्यसबेला पार्टीभित्र देखिएका गलत प्रवृत्ति सुधार गर्दै बाँकी राजनीतिक जीवन राप्रपामै बिताउने चाहना भए पनि सुनुवाइ नभएकाले पार्टी छाड्नुपरेको बताएका थिए।

२०७८ मंसिरको अन्तिम साता सम्पन्न महाधिवेशनपछि असन्तुष्ट बनेका उनले पूर्वराजा ज्ञानेन्द्र शाहले निर्वाचन प्रक्रियामा हस्तक्षेप गरेका कारण आफू पराजित भएको आरोपसमेत लगाएका थिए। पार्टीले पूर्वराजाको भूमिकाबारे छानबिन गरी भविष्यमा त्यस्तो अवस्था नदोहरिने सुनिश्चितता गर्नुपर्ने उनको माग थियो। पार्टी विभाजनपछि थापाले एमालेसँग सहकार्य गर्दै मकवानपुरमा चुनाव लडेका थिए।

प्रकाशित मिति: ९ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com