एजेन्सी । बंगलादेशमा बम विस्फोटको घटनामा एक युवकको ज्यान गएको छ। सन् २०२४ मा तत्कालीन प्रधानमन्त्री शेख हसिनालाई अपदस्त गर्ने विद्यार्थी आन्दोलनका ‘फ्रन्टलाइनर’ उसमान हादीको हत्या भएको घटना नसेलाउँदै पुनः भएको यस विस्फोटले बंगलादेशको सुरक्षा अवस्थाप्रति गम्भीर प्रश्न उठाएको छ।

ढाकाबाट प्रकाशित हुने अनलाइन ढाका ट्रिब्युन का अनुसार मृत्यु हुनेमा २१ वर्षीय सायम रहेका छन्। बुधबार दिउँसो ढाकाको मोघबजारस्थित ‘मोर’ क्षेत्रमा रहेको फ्लाइओभरबाट फ्याँकिएको बम सायममाथि खस्दा विस्फोट भएको थियो।

advertisement

विस्फोटसँगै सायमको घटनास्थलमै मृत्यु भएको जनाइएको छ। उनी एक निजी कार डेकोरेसन कम्पनीमा कार्यरत कर्मचारी रहेको प्रहरी स्रोतले जनाएको छ।

ढाका प्रहरीका उपकमिश्नर मशुद आलमका अनुसार घटनाका बेला सायम एक्लै सडकमा हिँडिरहेका थिए। खाजा किनेर फर्कने क्रममा अचानक फ्लाइओभरबाट खसेको बम उनीमाथि विस्फोट भएको हो। घटनामा कसको संलग्नता छ भन्ने विषयमा हालसम्म कुनै ठोस जानकारी खुल्न सकेको छैन।

हादी हत्या र त्यसलगत्तै भएको यस बम विस्फोटले बंगलादेशमा बढ्दो हिंसा र अस्थिरताप्रति आमचासो थप बढाएको छ।

प्रकाशित मिति: १० पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com