काठमाडौँ । सनातनीका आराध्यदेव भगवान् पशुपतिनाथको नित्यपूजा शुक्रबार नहुने भएको छ। अघिल्लो दिन राति धनुर्मास पूजा गरेपछि भोलिपल्ट उपवास राख्ने  परम्पराअनुसार शुक्रबार पशुपतिनाथको नित्यपूजा नभएको हो।

शुक्रबार बिहान र दिउँसोका पूजा नभए पनि साँझ आरती हुने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक सुभाषचन्द्र जोशीले जानकारी दिए।

उपवासका दिन बिहानै महादेव शिवपुरी डाँडामा गएर तोरीको तेल लगाएर घाममा शयन गर्ने धार्मिक विश्वास छ। बिहानै पशुपतिनाथलाई तोरीको तेल लगाइन्छ। शिवपुरी डाँडामा दिनभर घाम तापेर फर्किने  विश्वासमा साँझ भने आरती गर्ने परम्परा रहेको जोशीले बताए।

जाडोयाममा विशेषगरी पुस महिनामै पशुपतिनाथको धनुर्मास पूजा गर्ने परम्परा छ। पुसलाई ज्योतिषीय भाषामा धनु मास भनिन्छ। सौर र चान्द्र दुवै पुस रहेको महिनामा पशुपतिनाथलाई धनुर्मास पूजा गर्ने परम्परा छ।

पशुपतिनाथलाई चिसोबाट बचाउन यो पूजा गरिएको बताइन्छ। धनुर्मास पूजामा पशुपतिनाथलाई तातोपानीले स्नान गराइन्छ। खिचडीको भोग लगाइन्छ। घ्यू र चाकुजस्ता पदार्थ पनि चढाइन्छ।

दिनभर बन्द रहने पशुपतिनाथको मन्दिर साँझदेखि श्रद्धालुका लागि खुला हुने कोषले जनाएको छ।

प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com