काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी २०८४ सालको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।  बिहीबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा उनले यसबारे आफ्नो स्पष्ट धारणा सार्वजनिक गरेका हुन्।

महामन्त्री शर्माले आफूले यो निर्णय एक वर्षअघि नै आफ्नो निर्वाचन क्षेत्र झापा–१ मा सार्वजनिक गरिसकेको जानकारी दिए । २०८१ पुस २१ गते मेचिनगरमा आयोजित कार्यक्रममा नै आगामी चुनावमा उम्मेदवार नबन्ने बताएकाे उनले बैठकमा स्मरण गराए।

advertisement

लगातार तीन पटक उम्मेदवार भइसकेकाले अब नयाँ नेतृत्वलाई अवसर दिनुपर्ने समय आएको शर्माको भनाइ छ। उनले राजनीतिमा एउटै क्षेत्रमा दीर्घकालसम्म टिकिरहने र जीवनभर सत्तामै रहने सोचले लोकतान्त्रिक अभ्यास कमजोर बनाएको टिप्पणी गरे।

नेपाली राजनीतिमा देखिएको ‘क्षेत्र कब्जा’ गर्ने प्रवृत्तिप्रति आलोचना गर्दै शर्माले शक्तिको आडमा बारम्बार उम्मेदवार बन्ने र पराजयपछि पनि क्षेत्र नछाड्ने प्रवृत्ति अन्त्य हुनुपर्ने बताए।
आफू उम्मेदवार नबने पनि देशभर पार्टीका उम्मेदवारका पक्षमा सक्रिय रूपमा खटिने प्रतिबद्धता उनले व्यक्त गरे।

त्यसैगरी, महामन्त्री शर्माले फागुन २१ भित्र निर्वाचनको वातावरण नबनेको उल्लेख गर्दै सरकारलाई संवादमार्फत बैशाखमा चुनावको विकल्प खोज्न सुझाव दिए। संवैधानिक जटिलता समाधानका लागि सातै प्रदेशका सात स्थानमा निर्वाचन गर्न सकिने प्रस्ताव पनि उनले अघि सारे।

राजनीतिमा पुस्तान्तरण अपरिहार्य रहेको उल्लेख गर्दै शर्माले अब चुनावमा नयाँ अनुहारलाई अघि सार्नुपर्नेमा जोड दिए। उनले बढीभन्दा बढी युवा र नयाँ पुस्तालाई सक्रिय राजनीतिमा ल्याउनुपर्ने आवश्यकता औंल्याए।

प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com