काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपाल र नागरिक उन्मुक्ति पार्टीबीच पुनः एकता हुने भएको छ। पार्टी २०७८ भदौमा विभाजन भएको थियो। विभाजनपछि रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टी आन्तरिक विवादमा फसेको अवस्थामा संस्थापक रेशम चौधरीले भदौ २९ गते उक्त पार्टी छोड्ने घोषणा गरेका थिए।
त्यसपछि चौधरीले कात्तिक २ गते निर्वाचन आयोगमा आफू संरक्षक रहने गरी कविर सोबको अध्यक्षतामा नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरेका थिए। नागरिक उन्मुक्ति पार्टी नेपालले यसअघि राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीसँग चुनावी एकता गरेर एउटै चुनाव चिन्हमा निर्वाचनमा भाग लिने सहमति गरिसकेको थियो।
तर अहिले रञ्जिता श्रेष्ठ नेतृत्वको पार्टीले पुनः नागरिक उन्मुक्ति पार्टी नेपालसँग एकता गर्न लागेको छ। श्रेष्ठले पुष्टि गर्दै भनेकी छिन्, ‘केही कारणले उहाँहरू पार्टी छाडेर जानु भएको थियो, फेरि मैले प्रयास गरेर मिलाएँ।’ उनले नागरिक उन्मुक्ति पार्टी नेपालकै झन्डा, चुनाव चिन्ह र पार्टी संरचना स्वीकार गरेको पनि बताइन्।
पार्टीका उपाध्यक्ष अब्दुल खानका अनुसार दुई पार्टीबीच एकता तय भएको छ र नयाँ पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नेपाल रहनेछ। साथै, पार्टीको झन्डा र चुनाव चिन्ह पनि नागरिक उन्मुक्ति पार्टी नेपालकै रहनेछ।
पार्टीको इतिहास हेर्ने हो भने, रेशम चौधरी जेलमा रहेका बेला रञ्जिता श्रेष्ठको अध्यक्षतामा २०७८ पुसमा नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो। २०७९ को निर्वाचनमा पार्टीले राम्रो परिणाम पनि हासिल गरेको थियो। चौधरी जेलबाट रिहा भएपछि २०८० जेठमा पार्टी थप सशक्त रूपमा अघि बढेको थियो।
तर २०८० पुसमा महाधिवेशनपछि पार्टीमा आन्तरिक विवाद सुरु भयो। महाधिवेशनबाट चौधरी अध्यक्ष भएपनि रञ्जिता श्रेष्ठ अध्यक्ष बन्न चाहँदै आक्रोशित भएकी थिइन्। पार्टीभित्र गुटगत राजनीति बढ्दै गयो र सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री र अन्य मन्त्री पदको विवादले पार्टीलाई समस्या परेको थियो।
पार्टीको विवाद यतिसम्म बढ्यो कि केन्द्रीय समिति बैठकसमेत गुटगत बन्दै गयो। श्रेष्ठले संस्थापक केन्द्रीय समितिलाई मान्यता दिन्थिन् भने चौधरीले महाधिवेशनबाट चयन भएको समितिलाई मान्यता दिन्थे। यसै कारण जनमत पार्टीसँग हुने योजना अन्तिम समयमा विफल भएको थियो।
हाल पाँच महिनापछि यी पुराना विवादलाई मिलाउँदै रेशम चौधरी र रञ्जिता श्रेष्ठको पार्टी पुनः एकजुट हुँदै नागरिक उन्मुक्ति पार्टी नेपालको नाम र चिन्हमा अघि बढ्ने भएको हो।
प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार













प्रतिक्रिया