काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक छवि दिलाउने गरी आफ्नो कार्यकाल अघि बढाउने प्रतिबद्धता जनाएका छन्।
शुक्रबार परराष्ट्र मन्त्रालयको पदभार ग्रहण गर्दै मन्त्री शर्माले आफू देश र मन्त्रालयका लागि उपयोगी हुने विश्वासका साथ मन्त्रिपरिषद्मा सहभागी भएको स्पष्ट पारे। उनले देश र मन्त्रालयलाई आवश्यक परेको अवस्थामा जिम्मेवारी लिनु स्वाभाविक भएको बताए।
‘नेपालको छवि विश्वभर कसरी अझ राम्रो बनाउन सकिन्छ भन्ने दिशामा म काम गर्नेछु,’ उनले भने, ‘यो मुलुक हाम्रो हो। हामीले जति खाली छोड्यौँ, त्यति नै समस्या बढ्छ। हाम्रो उपस्थितिले मुलुक र मन्त्रालयलाई सकारात्मक योगदान पुग्छ भने पछि हट्नु हुँदैन भन्ने सोचका साथ आएको हुँ।’
मन्त्री शर्माले विदेशस्थित नेपाली राजदूतहरूले आ–आफ्ना कार्यक्षेत्रमा गरिरहेको कामको मूल्यांकन गरिएको उल्लेख गर्दै त्यसै अनुरूप परराष्ट्र मन्त्रालयले प्रभावकारी रूपमा काम गरिरहेको विश्वास व्यक्त गरे।
आगामी निर्वाचनको सन्दर्भमा छिमेकी मुलुकहरूसँग आवश्यक परे उचित र सही ढंगले सहकार्य गरिने पनि उनले बताए। साथै, मित्र राष्ट्रहरूसँगको सम्बन्धलाई अझ सुदृढ र सकारात्मक बनाउँदै अघि बढ्ने प्रतिबद्धता जनाए।
‘छिमेकी देशहरूसँग सकारात्मक भूमिका निर्वाह गर्दै सहकार्यमा अघि बढ्नेछु,’ उनले भने, ‘उनीहरू उदयीमान मुलुक हुन्। अहिले देश चुनावी प्रक्रियामा प्रवेश गरिसकेको छ। निर्वाचनका क्रममा मन्त्रालयले छिमेकी वा अन्य कुनै देशसँग सहकार्य गर्नुपर्ने अवस्था आएमा त्यसलाई सही ढंगले अघि बढाइनेछ।’
प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार













प्रतिक्रिया