काठमाडौं । नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको वर्तमान सरकारले आफ्नो पार्टीलाई निर्वाचनको बाटोबाट हटाएर युद्धतर्फ धकेल्न खोजिरहेको आरोप लगाएका छन्।
शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कपिलवस्तु र अर्घाखाँचीमा रहेको पार्टीका श्रम शिविरमा सुरक्षाकर्मीले सञ्चालन गरेको अपरेशनप्रति कडा आपत्ति जनाए। उनले सरकारको यस्तो कदम निर्वाचन होइन, द्वन्द्व सिर्जना गर्ने प्रयास भएको भन्दै आक्रोश व्यक्त गरे।
विप्लवले ती स्थानमा खटाइएका सुरक्षाकर्मी तत्काल फिर्ता नबोलाए सरकारविरुद्ध कडा संघर्षमा उत्रिने चेतावनीसमेत दिए। उनले भने, ‘हाम्रो केन्द्रीय कम्युनमा प्रहरी अपरेशन गरियो। म यहीँबाट प्रधानमन्त्री सुशीला कार्कीलाई स्पष्ट रूपमा सोध्न चाहन्छु—तपाईं चुनाव चाहनुहुन्छ कि युद्ध? यसको निर्णय चाहिन्छ। हामी शान्तिपूर्ण प्रतिस्पर्धामा सहभागी हुन तयार छौँ, तर हामीमाथि दबाब दिएर युद्धतर्फ धकेल्ने प्रयास सह्य हुँदैन।’
सरकार चुनाव गर्न चाहन्छ कि युद्ध भन्ने प्रश्न उठाउँदै उनले उक्त अपरेशन गलत भएको स्वीकार गर्दै सुरक्षाकर्मी फिर्ता बोलाउन र सार्वजनिक रूपमा माफी माग्न माग गरे। त्यसो नगरे सरकारले ठूलो मूल्य चुकाउनुपर्ने उनको चेतावनी थियो।
विप्लवले आफ्नो पार्टी शान्तिपूर्ण राजनीतिक प्रक्रियामार्फत अघि बढ्न चाहेको उल्लेख गर्दै भने, ‘हामी नेपाली जनतासमक्ष शान्तिपूर्ण रूपमा राज्य परिवर्तनको अपिल गरिरहेका छौँ र निर्वाचनमा सहभागी हुन तयारी गरिरहेका छौँ। कानुनी प्रक्रिया पूरा गरेर, मूल्य र मान्यता पालना गर्दै चुनावमा जान खोजिरहेका छौँ।’
उनले थपे, ‘यदि विगतमा जस्तै दमन र अपरेशनमार्फत द्वन्द्व जन्माउने अर्को परिकल्पना गरिएको छ भने त्यसको परिणाम गम्भीर हुनेछ। हाम्रो केन्द्रीय कम्युनबाट तत्काल प्रहरी फिर्ता नबोलाइए र गरिएका गल्तीमा माफी नमागिए यसको मूल्य निकै चर्को पर्नेछ।’
प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार













प्रतिक्रिया