सुर्खेत । मन्त्रीहरू र कर्मचारीको कमजोर कार्यक्षमताबाट दिक्दार भएका कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्री र कर्मचारीलाई जिम्मेवार भएर काम गर्न र विकास निर्माणको गति बढाउन कडा निर्देशन दिएका छन् ।
शुक्रबार मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री र कर्मचारीको कार्यक्षमताप्रति चित्त नबुझेपछि कँडेलले सरकारको गति बढाउन निर्देशन दिएका हुन् ।
‘वर्तमान परिस्थिति र जनताको अपेक्षाअनुसार विकास निर्माणका कामको गति तीव्र पार्नुहोस्,’निर्देशन दिँदै उनले भने, ‘विभिन्न बहानामा विकास निर्माणका काममा ढिलाइ भइरहेकोमा मैले पाएको छु । यो राम्रो भएन ।’
अब परिणाम देखिने गरी काम गर्नुपर्ने कँडेलले बताए । कुनै पनि काम गर्दा समस्या मात्र देखाउने नभई, त्यसको व्यावहारिक समाधानसहित अगाडि बढ्न कर्मचारीलाई उनले आग्रह गरे ।
भने, ‘बाहिरको परिस्थिति र जनताको मनोविज्ञान तपाईँहरूले सोचेको जस्तो छैन, फरक छ । जनताले आज र अहिले नै कामको नतिजा हेर्न चाहेका छन् ।’
काममा ढिलासुस्तीको उचित जवाफ जनताले खोज्ने भएकाले त्यसप्रति सचेत भएर काम गर्नुपर्न कँडेलले मन्त्री, कर्मचारीलाई निर्देशन दिए ।
विकास निर्माणका काममा देखिने ढिलासुस्ती, लापरबाही र जिम्मेवारी पन्छाउने प्रवृत्ति अब कुनै पनि हालतमा स्वीकार्य नहुने कँडेलले स्पष्ट पारे । उनले नतिजा देखिने गरी गरिने काम नै सरकारको प्रमुख प्राथमिकता भएको उनको भनाइ थियो ।
साथै, कँडेलले सबै तहका कर्मचारी र कार्यालय प्रमुखलाई जिम्मेवार भएर काम गर्न, आफ्नो कार्यक्षेत्रको जवाफदेहिता आफैँले लिन र आफ्नो तहको निर्णय समयमै गर्न निर्देशन दिए ।
‘निर्णय गर्ने क्षमतामा वृद्धि गर्नुहोस्,’ उनले थपे, ‘कार्यालय प्रमुखहरू कार्यालयमै रहेर कर्मचारीले गर्ने कामको जवाफदेहिता र औचित्य स्पष्ट हुने गरी कार्यसम्पादन गर्नुहोस् ।’
मुख्यमन्त्री कँडेलले सरकारी सवारी साधनको प्रयोगमा पनि कडाइ गर्न निर्देशन दिएका छन् । ‘कसले, कसरी सरकारी सवारी चलाएको छ भन्ने स्पष्ट रेकर्ड राख्नुहोस्,’ उनले भने ।
प्रकाशित मिति: ११ पुस २०८२, शुक्रबार













प्रतिक्रिया