काठमाडौँ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपाली राजनीतिमा ‘नयाँ’ र ‘पुरानो’ भन्ने बहस निरर्थक रहेको टिप्पणी गरेका छन्। उनका अनुसार राजनीतिमा दलको उमेरभन्दा पनि नीति, एजेन्डा र गन्तव्य नै मुख्य विषय हुन्।

शुक्रबार राति सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले नीतिविहीन र एजेन्डाविहीन शक्तिलाई ‘नयाँ’को आवरण ओढाउँदैमा राजनीतिक विकल्प तयार नहुने बताएका छन्। उनले दलको इतिहास पुरानो भए पनि नीति र नेतृत्व समयअनुसार अद्यावधिक भइरहेमा त्यो दल सधैँ सान्दर्भिक र जीवन्त रहने स्पष्ट पारेका छन्।

advertisement

समयअनुकूल आफूलाई परिमार्जन गर्न नसक्ने राजनीतिक शक्तिहरू मात्रै समाप्त हुने उल्लेख गर्दै पोखरेलले नेपाली राजनीतिमा यस्ता धेरै उदाहरण रहेको बताए। उनका अनुसार एमालेसँग वर्तमान मात्र होइन, भविष्यको नेतृत्व गर्ने स्पष्ट सोच र संकल्प छ। यही कारण पुराना दललाई हराउन नयाँ शक्तिहरू एक हुनुपर्छ भन्ने बहस अघि सारिएको उनको दाबी छ।

‘को नयाँ?’ भन्ने प्रश्न उठाउँदै पोखरेलले रवि लामिछाने, बालेन शाह, हर्क साम्पाङ र कुलमान घिसिङजस्ता पात्रहरू नेपाली राजनीति र राज्यसत्तामा कुनै न कुनै रूपमा परीक्षण भइसकेको बताए। साथै जेन–जी कुनै संगठित राजनीतिक शक्ति नभई सूचना र प्रविधिसँग हुर्किएको एउटा उमेर समूह मात्र भएको उनको टिप्पणी छ।

उनले जेन–जीलाई जननिर्वाचित सत्ताविरुद्ध प्रयोग गर्न सकिन्छ भन्ने सोच पुँजीवादी साम्राज्यवादी शक्तिहरूले विकास गरेको आरोपसमेत लगाएका छन्। भदौ २३ को प्रदर्शनसँग जोडिएका अभियानकर्ताहरू अहिले षड्यन्त्रविरुद्ध प्रतिवादका लागि एमाले नेतृत्वसँग निरन्तर संवादमा रहेको पनि उनले उल्लेख गरेका छन्।

महासचिव पोखरेलले चौतर्फी घेराबन्दीका बाबजुद पनि नवयुवाहरूका बीच एमाले अहिले पनि ‘नयाँ’ भनिने शक्तिहरूभन्दा लोकप्रिय रहेको दाबी गरे। पछिल्लो समय देशविरुद्ध भइरहेका षड्यन्त्रबारे नवयुवा सचेत हुँदै गएको र त्यससँगै एमालेप्रति उनीहरूको प्रतिबद्धता बढ्दै गएको उनले बताए।

नेपाललाई बंगलादेशजस्तै अस्थिर बनाउने प्रयास असफल भएपछि पुराना दललाई कमजोर बनाउन नयाँ शक्तिहरू एक हुनुपर्छ भन्ने धारणा अघि सारिएको पोखरेलको आरोप छ।

प्रकाशित मिति: १२ पुस २०८२, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com