धनगढी । कञ्चनपुरमा मोटरसाइकल र ट्याक्टर आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
शुक्रबार शुक्लाफाटा नगरपालिका–५ स्थित बनसमिति क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्गमा म १ त ९३१ नम्बरको ट्याक्टर र सु प प्र ०२००४ प २६८८ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालकको टाउको र खुट्टामा गम्भीर चोट लागेको थियो ।
मोटरसाइकल शुक्लाफाटा नगरपालिका–५ का ४५ वर्षीय गड्डु विकले चलाइरहेका थिए भने ट्याक्टर लालझाडी गाउँपालिका–३ का २६ वर्षीय वीरेन्द्र रानाले चलाएका थिए । घाइते विकलाई तत्काल झलारीस्थित अस्पतालमा प्राथमिक उपचारपछि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर लगिएको थियो । उपचारकै क्रममा शुक्रबार राति करिब ९ बजे विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार शुक्लाफाटा नगरपालिका–५ का ४० वर्षीय विरराम पोखरेल पनि घाइते भएका छन् । उनको झलारीमै उपचार भइरहेको छ ।
घटनापछि ट्याक्टर, ट्याक्टर चालक तथा मोटरसाइकललाई इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: १२ पुस २०८२, शनिबार













प्रतिक्रिया