काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति रामचन्द्र पौडेलसँग शीतलनिवासमा भेटवार्ता गरेका छन्।
करिब एक घण्टा चलेको भेटमा तोकिएको समयमै निर्वाचन सम्पन्न गर्ने विषय मुख्य एजेन्डा रहेको खनालको सचिवालयले जनाएको छ। छलफलका क्रममा निर्वाचनका लागि आवश्यक पूर्वाधार तयारी, शान्ति–सुरक्षाको अवस्था र समग्र राजनीतिक वातावरणबारे विचार–विमर्श भएको थियो।
सचिवालयका अनुसार भदौ २३ र २४ गते घटेका घटनाहरू, तिनका कारण तथा त्यसपछिको राजनीतिक परिस्थितिबारे पनि छलफल भयो। बाध्यात्मक अवस्थामा वर्तमान सरकार गठन भएको र यसको प्रमुख जिम्मेवारी निर्वाचन सम्पन्न गर्नु रहेको विषयमा जोड दिइएको बताइएको छ।
छलफलमा निर्वाचनको विकल्प नरहेको उल्लेख गर्दै सबै राजनीतिक दल र सरोकारवालाबीच सहमति कायम गरी समयमै निर्वाचन गराएर मुलुकलाई नयाँ निकासतर्फ लैजानुपर्ने आवश्यकता औंल्याइएको थियो। राष्ट्रपतिले पनि आगामी फागुन २१ गते निर्वाचन गरिनुपर्नेमा आफ्नो स्पष्ट धारणा राखेका थिए।
भेटका क्रममा राष्ट्रपति पौडेलले खनालकी पत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्थाबारे समेत जानकारी लिएका थिए।
प्रकाशित मिति: १२ पुस २०८२, शनिबार













प्रतिक्रिया