काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच आज शीतल निवासमा भेटवार्ता भएको छ। बिहान १० बजे सुरु भएको भेटवार्ता करिब एक घण्टा चल्यो।
भेटका क्रममा राष्ट्रपति पौडेलले खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी लिएका थिए र शीघ्र स्वास्थ्य लाभको कामना व्यक्त गरेका छन्।
दुवै पक्षबीच समसामयिक राजनीतिक अवस्था, आगामी निर्वाचन र मुलुकका वर्तमान चुनौतीहरूमा विस्तृत छलफल भएको छ। निर्वाचन सम्पन्न गर्न आवश्यक पूर्वाधार, शान्ति–सुरक्षा व्यवस्था र तोकिएकै समयमा चुनाव सञ्चालन गर्ने विषयमा विचार–विमर्श भएको स्रोतले जनाएको छ। साथै, २३ र २४ गते घटेका घटनाहरू र ती घटनाका कारणबारे पनि छलफल भएको जनाइएको छ।
छलफलमा हालको सरकार बाध्यात्मक परिस्थितिमा गठन भएको र यसको प्रमुख दायित्व निर्वाचन सम्पन्न गर्नु नै रहेको विषयमा जोड दिइएको थियो। निर्वाचनको कुनै विकल्प नभएको र त्यसका लागि आवश्यक पूर्वाधार तयारी, सबै राजनीतिक दल र सरोकारवाला पक्षबीच सहमति कायम गरी निर्वाचन सम्पन्न गर्नु अपरिहार्य रहेको धारणा दुवै पक्षले राखेको छ।
फागुन २१ मा निर्वाचन सम्पन्न गर्ने विषयमा राष्ट्रपति पौडेल र झलनाथ खनालबीच सहमति रहेको बुझिएको छ।
प्रकाशित मिति: १२ पुस २०८२, शनिबार












प्रतिक्रिया