काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहबीच ७ बुँदे सहमति भएको छ। सहमतिअनुसार आगामी प्रतिनिधि सभा निर्वाचनपछि बालेन शाह संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार हुनेछन् भने रवि लामिछाने पार्टीको केन्द्रीय सभापति रहनेछन्।

सहमति हस्ताक्षर कार्यक्रममा रास्वपाका तर्फबाट स्वर्णिम वाग्ले, डिपी अर्याल, शिशिर खनाल र असिम शाहको उपस्थिति थियो भने बालेन शाह पक्षबाट कुमार बेन, केपी खनाल, निश्चल बस्नेत, भूपदेव शाह र सुदिप ढकाललगायत सहभागी थिए।

advertisement

राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन्द्र शाहबीच भएको यस ‘बृहत् एकता’ सहमतिमा सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीमार्फत सुशासन कायम गर्दै नागरिकका आकांक्षा पूरा गर्न सहकार्य आवश्यक रहेको उल्लेख गरिएको छ। साथै, २०८२ साल भदौ २३ र २४ मा भएको जेन–जी आन्दोलनलगायत विभिन्न कालखण्डका जनआन्दोलनमा सहादत प्राप्त गर्ने शहीद तथा घाइतेहरूको योगदानलाई प्रेरणाको रूपमा स्मरण गरिएको छ।

सहमतिको प्रमुख बुँदाहरू यस प्रकार छन्—

१. नवयुवाहरूले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व ग्रहण गर्दै घाइते तथा शहीद परिवारका मागहरू यथोचित रूपमा सम्बोधन गर्ने।
२. गहिरा नीतिगत, संस्थागत र संरचनात्मक सुधारमार्फत आर्थिक–सामाजिक उन्नयन गर्दै आगामी दस वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने लक्ष्यका लागि प्रतिबद्ध रहने।
३. बृहत् एकतापछि पार्टीको नाम “राष्ट्रिय स्वतन्त्र पार्टी” नै रहने, झण्डा निलो पृष्ठभूमिमा सेतो घेराभित्र निलो घण्टी रहने, चुनाव चिन्ह घण्टी हुने र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने।
४. पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र प्रतिनिधि सभा निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने।
५. पार्टीको संगठनात्मक संरचनालाई सशक्त बनाउँदै युवा अभियन्ता र अनुभवी विज्ञहरूको समुचित समायोजन गर्ने तथा जिम्मेवारी वितरण गर्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार बनाउने।
६. यस सम्झौताअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीसम्बन्धी सबै दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने।
७. पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’मा गोलबद्ध भई लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्दा अघि बढाउन अन्य परिवर्तनकामी राजनीतिक शक्ति, समूह र व्यक्तिहरूलाई आव्हान गर्ने।

प्रकाशित मिति: १३ पुस २०८२, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com