काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता सहभागी हुने भएका छन्। निर्वाचन आयोगले अन्तिम मतदाता नामावली प्रकाशन गर्दै उक्त विवरण सार्वजनिक गरेको हो।
अन्तिम नामावलीअनुसार ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला तथा अन्य २०० मतदाता समावेश छन्। मतदाताले आयोगको वेबसाइटमार्फत आफ्नो नाम अन्तिम मतदाता नामावलीमा रहेको छ कि छैन भन्ने जानकारी लिन सक्ने व्यवस्था गरिएको छ।
मतदाता नामावली ऐन, २०७३ को दफा २० अनुसार आयोगले शनिबार अन्तिम मतदाता नामावली प्रकाशन गर्ने निर्णय गरेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। आयोगका अनुसार आगामी फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा गर्ने नागरिकहरूको विवरण समेत समेटेर नामावली अद्यावधिक गरिएको हो।
विसं २०७९ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा कुल मतदाता संख्या एक करोड ७९ लाख ८८ हजार ५७० रहेको थियो, जसमा ९१ लाख ४० हजार ८०६ पुरुष, ८८ लाख ४७ हजार ५७९ महिला र अन्य १८५ मतदाता थिए। त्यसको तुलनामा २०८२ मा कुल मतदाता संख्या नौ लाख १५ हजार ११९ ले वृद्धि भएको छ। आयोगका अनुसार पुरुष मतदाता पाँच लाख २२ हजार ५५२, महिला मतदाता तीन लाख ९२ हजार ५५२ तथा अन्य मतदाता १५ ले बढेका छन्।
निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदान स्थलमा २३ हजार ११२ मतदान केन्द्र तोकिएको छ। यो संख्या २०७९ सालको निर्वाचनको तुलनामा ७५ मतदान स्थल र ८८५ मतदान केन्द्र बढी हो।
प्रकाशित मिति: १३ पुस २०८२, आइतबार












प्रतिक्रिया