काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो पार्टीले कुनै पनि दलसँग एकता नगर्ने स्पष्ट पारेका छन्।
सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उनले श्रम संस्कृति पार्टीले मिसावटको राजनीति नगर्ने र आफ्नै बाटोमा अघि बढ्ने बताएका छन्। निर्वाचनको माहोलमा विभिन्न दलबीच सहकार्य र गठबन्धनका चर्चा भइरहे पनि आफ्नो पार्टी त्यसमा नलाग्ने उनको भनाइ छ।
साम्पाङले श्रम संस्कृति पार्टी स्वदेशी विचार र मौलिक पहिचानमा आधारित राजनीति गर्ने दल भएको उल्लेख गर्दै देशको माटो र श्रमसँग जोडिएको राजनीतिक धार नै आफ्नो प्राथमिकता रहेको बताए।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच सातबुँदे सहमति भएको केही घण्टापछि आएको उनको अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
उनले पार्टीका कार्यकर्ता र शुभेच्छुकलाई कसैसँग एकता हुने वा नहुने विषयमा भ्रममा नपर्न आग्रह गर्दै भने, श्रम संस्कृति पार्टी स्वतन्त्र रूपमा अघि बढ्नेछ र कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णयमा दृढ छ।
प्रकाशित मिति: १३ पुस २०८२, आइतबार













प्रतिक्रिया