काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उपाध्यक्ष रवीन्द्र मिश्रले भावी नेपाललाई केवल सुशासन र भ्रष्टाचार नियन्त्रणका एजेन्डाले मात्र अघि बढाउन नसकिने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच एकै पार्टीमा रहने विषयमा सातबुँदे सहमति भएपछि मिश्रले आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश दिँदै आफ्नो धारणा सार्वजनिक गरेका हुन्।
उनले वर्तमान भूराजनीतिक परिवेश तीव्र रूपमा परिवर्तन हुँदै गएको र नेपालको आन्तरिक अवस्था पनि जटिल बन्दै गएको उल्लेख गर्दै अब मुलुकलाई फरक र गहिरो राजनीतिक सोचको आवश्यकता रहेको बताएका छन्।
मिश्रका अनुसार प्रजातान्त्रिक व्यवस्थाभित्र संवैधानिक राजसंस्थालाई स्थान नदिइएमा राष्ट्रिय संकटका घडीमा अभिभावकत्व ग्रहण गर्न सक्ने संस्थागत विकल्प क्रमशः कमजोर हुँदै जाने खतरा छ।
‘भावी नेपाललाई अब केवल सुशासन र भ्रष्टाचार नियन्त्रणका एजेन्डाले मात्र थेग्न सक्दैन,’ उनले लेखेका छन्, ‘यदि प्रजातन्त्रभित्र संवैधानिक राजसंस्थाको जगेर्ना गरिएन भने हाम्रा आशा र उत्साह पुनः धुमिल हुनेछन्।’
उनले रूपान्तरणको एजेन्डासँगै राजसंस्थाको मुद्दा पनि समेट्न सके आगामी केही दशक रवि लामिछाने र बालेन शाहकै दशक बन्न सक्ने दाबी गरेका छन्।
प्रकाशित मिति: १३ पुस २०८२, आइतबार













प्रतिक्रिया