काठमाडौँ। निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फका सांसदको बन्दसूची पुस १४ गतेभित्र बुझाउन र पुस २१ गतेसम्म सच्याउन समय दिएको छ। यसअनुसार राजनीतिक दलहरूले सोमबार कार्यालय समयभित्र समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउनुपर्नेछ।
विघटित प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले समानुपातिकतर्फ आकांक्षीहरूको नाम जिल्ला, निर्वाचन क्षेत्र र प्रदेश हुँदै केन्द्रमा मगाइसकेको छ। पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले तल्ला तहबाट प्रक्रियागत रूपमा नाम केन्द्रमा आइसकेको र सूची निर्माणको तयारी भइरहेको जानकारी दिए।
उनका अनुसार केन्द्रमा कांग्रेसका तीन समूहले आ–आफ्नै सूची तयार गर्ने गृहकार्य गरिरहेका छन्। संस्थापन समूह, डा. शेखर कोइराला नेतृत्वको इतर समूह र महामन्त्री गगन थापा समूहले छुट्टाछुट्टै समानुपातिक सूचीको तयारी थालेका हुन्।
संस्थापन समूहले प्रदेशगत रूपमा नेताहरूलाई सूची निर्माणको जिम्मेवारी दिएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सभापति शेरबहादुर देउवासँगको परामर्शका आधारमा सातै प्रदेशका लागि जिम्मेवारी तोकेको स्रोतले जनाएको छ। कोशी प्रदेशमा ज्ञानेन्द्रबहादुर कार्की, मधेस प्रदेशमा सहमहामन्त्री महेन्द्र यादव, बागमती प्रदेशमा प्रवक्ता डा. प्रकाशशरण महत, गण्डकी प्रदेशमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशमा बालकृष्ण खाण, कर्णाली प्रदेशमा पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही र सुदूरपश्चिम प्रदेशमा प्रदेश सभापति वीरबहादुर बलायरलाई सूची निर्माणको जिम्मेवारी दिइएको छ।
डा. शेखर कोइराला नेतृत्वको इतर समूहले पनि छुट्टै सूची निर्माण गरिरहेको जनाएको छ। समूहका अनुसार डा. कोइराला, उपसभापति धनराज गुरुङ, सहमहामन्त्रीद्वय बद्री पाण्डे र जीवन परियार तथा डा. मिनेन्द्र रिजाल सूची तयार गर्ने कार्यमा छन्।
त्यसैगरी महामन्त्री गगन थापाको तर्फबाट उनी स्वयं र उनको सचिवालयले सूची तयार गरिरहेको केन्द्रीय सदस्य प्रतिमा गौतमले जानकारी दिइन्। उक्त सूचीमा अर्का महामन्त्री विश्वप्रकाश शर्माको नाम पनि समेटिने बताइएको छ।
प्रवक्ता महतले निर्वाचन आयोगले तोकेको समयसीमाभित्र कांग्रेसले समानुपातिकतर्फको बन्दसूची बुझाउने स्पष्ट पारे। “हामी आन्तरिक तयारीमा छौँ र आयोगले तोकेको समयमा सूची बुझाउँछौँ,” उनले भने।
यसपटक समानुपातिकतर्फको बन्दसूची संसदीय समिति गठन नगरी कार्यसम्पादन समितिबाटै पारित गरेर बुझाउने तयारी कांग्रेसको छ। पार्टीका प्रचार विभाग प्रमुख मीन विश्वकर्माले संसदीय समिति गठन गर्ने अधिकार सभापतिमा रहेको बताए। सभापति देउवा निकट स्रोतका अनुसार समय अभावका कारण समानुपातिकतर्फ संसदीय समिति गठन नहुनेछ भने प्रत्यक्षतर्फका उम्मेदवार चयनका लागि भने संसदीय समिति बनाउने तयारी रहेको छ।
प्रकाशित मिति: १४ पुस २०८२, सोमबार













प्रतिक्रिया