काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति, अमनचैन र दिगो लोकतन्त्र स्थापना गर्न निर्वाचनबाहेक अन्य विकल्प नरहेको स्पष्ट पारेकी छन्। उनले यस प्रक्रियामा सहयोग गर्न सबै पक्षलाई आग्रह गरेकी छन्।

आज बिहान बालुवाटारमा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाऊ अभियानका अगुवा दुर्गा प्रसाईंसँग भएको भेटमा प्रधानमन्त्री कार्कीले मुलुकले अब अस्थिरता र अशान्ति सहन नसक्ने अवस्थामा पुगेको उल्लेख गर्दै आफ्ना माग र असन्तुष्टि शान्तिपूर्ण र लोकतान्त्रिक माध्यमबाट व्यक्त गर्न आग्रह गरिन्।

advertisement

प्रधानमन्त्री कार्कीले मुलुक पूर्ण रूपमा निर्वाचनको प्रक्रियामा प्रवेश गरिसकेको बताउँदै जनताबाट आफ्ना मुद्दा अनुमोदन गराउनु नै लोकतान्त्रिक निकासको एकमात्र उपाय भएको धारणा राखिन्। धेरै अप्ठ्यारो अवस्थाबाट मुलुकलाई शान्ति र सुव्यवस्थातर्फ फर्काएका छौँ, उनले भनिन्, सबै प्रकारका संशयलाई चिर्दै मुलुक निर्वाचनको माहोलमा होमिएको छ। यस्तो संवेदनशील घडीमा सबै पक्षबाट जिम्मेवार भूमिकाको अपेक्षा गरिएको छ। यो देश मेरो पनि हो भन्ने भावना राखेर सबै जिम्मेवार बनौँ।

भेटका क्रममा प्रधानमन्त्री कार्कीले शान्ति कायम राख्न आग्रह गर्दै शान्तिका प्रतीक भगवान् गौतम बुद्धको तस्बिर प्रसाईँलाई उपहारस्वरूप प्रदान गरिन्।

प्रधानमन्त्रीले सरकार न्यायका पक्षमा उभिएको उल्लेख गर्दै आफूहरू सत्ताभोग वा सुख–सयलका लागि नभई भ्रष्टाचारको अन्त्य र शोषित–पीडित वर्गलाई न्याय दिलाउने उद्देश्यका साथ अघि बढेको बताइन्। सबै परिणाम तुरुन्त देखिन नसक्लान्, तर हामी आधारशीला तयार गर्दै अघि बढिरहेका छौँ,” उनले भनिन्, “तपाईंले उठाउनुभएका कतिपय जायज मुद्दाको सम्बोधनका लागि पनि सरकारले आवश्यक गृहकार्य गरिरहेको छ। आगामी दिनमा थप छलफल गर्दै जानेछौँ।

प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com