काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई नै सहयोग गर्दै अघि बढ्ने स्पष्ट पारेका छन्। देउवाले खड्कालाई पार्टीको उपसभापति र हाल कार्यवाहक भएको कारण उनीसँगै अघि बढ्ने बताएका हुन्।
मंगलबार केही सञ्चारकर्मीहरूसँगको कुराकानीमा देउवाले भने, ‘मैले पूर्णबहादुरलाई नै सहयोग गर्छु। उपसभापति हो र अहिले कार्यवाहक पनि उसैले चलाइरहेको छ। अरूलाई पनि सहयोग गर्ने कुरा भनेको हो।’
उनले आफू सभापतिको उम्मेदवार नहुने तर भविष्यमा सभापति हुनेले आवश्यक ठानेमा सल्लाह दिने बताएका छन्। ‘हाम्रो विधानअनुसार तीन पटक सभापति हुन सक्दैन। म हुँदिनँ। पछि सभापति हुनेले सल्लाह लिन चाहे भने दिन्छु, नचाहिए दिँदैन,’ देउवाले भने।
देउवाले नेता डा. शेखर कोइराला र महामन्त्री गगन थापा पनि सभापतिको उम्मेदवार बन्ने चर्चा बाहिरबाट सुनेको बताए। उनले भने, ‘शेखरले अहिलेसम्म सहयोगको आग्रह गरेको छैन। गगन र विश्व आएका थिए। मैले भनेँ, अब पूर्णबहादुरलाई नै सहयोग गर्छु।’
सभापति देउवाले नियमित महाधिवेशनको तालिका भइसकेको हुँदा विशेष महाधिवेशनको आवश्यकता नरहेको तर्क गरे। उनले भने, ‘निर्वाचन अघि पार्टी महाधिवेशन सम्भव छैन। माघमा महाधिवेशन गरेर फागुनमा चुनावमा जान सकिँदैन। यसरी भएमा नेताहरूको रिसले चुनावमा असर पर्छ। हाम्रो पार्टीमा कहिल्यै पूर्ण एकता भएन।’
उनले महाधिवेशनको कार्यवाहक जिम्मेवारी असोज २८ गतेदेखि दिइसकेको उल्लेख गर्दै विशेष महाधिवेशन गर्नु आवश्यक नभएको बताए। ‘यदि गर्नै हो भने भए भैहाल्यो, मैले रोक्ने कुरा हुँदैन,’ उनले थपे।
देउवाले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा डडेलधुराबाटै प्रत्यक्षतर्फ चुनाव लड्ने बताए। ‘मैले प्रत्यक्ष चुनाव लड्छु। विगतमा कठिन परिस्थितिमा पनि जितेर आएको व्यक्ति हुँ, अब विश्राम लिनुअघि पनि प्रत्यक्ष चुनाव नै लड्छु।’
प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन नहुने सम्भावना रहेको तर राष्ट्रिय सभा निर्वाचनको विषयमा छलफल जारी रहेको उनले जानकारी दिए।
देश अहिले चुनाव केन्द्रित भए पनि सुरक्षाको प्रत्याभूति पर्याप्त नभएको उल्लेख गर्दै उनले भने, ‘चुनाव त हुने निश्चित छ। समानुपातिक सूची बुझाइसक्यौं। तर केही घटनाहरूले सुरक्षाको सुनिश्चितता देखाउँदैन। सरकार भन्छ, हेरौं।’
देउवाले भदौ २४ गते आफूमाथि आक्रमण हुँदा नेपाली सेनाका कर्णेल र जेनजीहरूले नै सुरक्षा प्रदान गरेको बताए। उनले यस्तो आक्रमणको कल्पना नगरेको र घेराबन्दीमा परेको अवस्था रहेकाले स्वतन्त्र रूपमा बाहिर निस्कन नसकेको सुनाए। उनले भने, ‘सबैभन्दा बढी आक्रमण हाम्रो कांग्रेसका नेताका घर र पार्टी कार्यालयमा भयो। त्यसपछि एमालेको क्षति भयो। माओवादीको केही कम क्षति देखियो। हाम्रो जोगाउने काम जेनजी र सेनाले गरे।’
प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार













प्रतिक्रिया