काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले मुलुकमा लगानीमैत्री वातावरण सिर्जना गर्न र आन्तरिक लगानी वृद्धि गर्न नेपाल राष्ट्र बैंकसँग निरन्तर संवाद भइरहेको बताएका छन्।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री खनालले नेपाल राष्ट्र बैंकले सेवा निर्यात गर्ने सूचना प्रविधि (आईटी) कम्पनीलाई विदेशमा लगानी गर्न २० हजार अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही निःशर्त दिने व्यवस्था गरेको बताए। उनले यस कदमको उद्देश्य आईटी क्षेत्रमा आफ्नो ज्ञान र सीप प्रयोग गरेर विदेशी पुँजी भित्र्याउन चाहने व्यवसायीलाई सहजता प्रदान गर्नु भएको बताए।

advertisement

खनालले विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेशमै फर्केर समान प्रकृतिको काम र पारिश्रमिकमा कार्य गर्न सकिने वातावरण तयार गर्नुपर्ने आवश्यकता रहेको र सरकार यसतर्फ गृहकार्य गरिरहेको उल्लेख गरे।

उनले युवाहरूले माग गरेको रिमोट वर्कमार्फत विदेशी मुद्रा आर्जन गर्ने वातावरण निर्माणमा राज्यले गम्भीर ध्यान नदिएको विषयमा पनि चिन्ता व्यक्त गरे। उनले विद्यमान कानुनलाई अध्यादेशमार्फत संशोधन गर्नु आवश्यक नभएको भन्दै सामान्य नीति र नियममा आवश्यक संशोधन भइरहेको बताए। उनका अनुसार हालसम्म आर्थिक कार्यविधि तथा आर्थिक उत्तरदायित्व नियमावली, भन्सार नियमावली र वन नियमावली संशोधन भइसकेका छन्।

अर्थमन्त्री खनालले कीर्तिपुरको डाँडामा बसेर महिनामा तीन लाख कमाउने कांग्रेस महामन्त्री गगन थापाको भनाइ वास्तविक र यथार्थपरक भएको पनि औंल्याए।

यसैगरी, उनले जेनजी आन्दोलनपछि पर्यटन उद्योग र आन्तरिक तथा बाह्य लगानीका लागि आवश्यक वातावरण निर्माण हुन नसकेकोमा चिन्ता व्यक्त गर्दै यसमा सरोकारवाला सबैले ध्यान दिनुपर्नेमा जोड दिए।

प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com