काठमाडौं अर्थमन्त्री रामेश्वर खनालले मुलुकमा लगानीमैत्री वातावरण निर्माण र आन्तरिक लगानी वृद्धि गर्न नेपाल राष्ट्र बैंकसँग निरन्तर संवाद भइरहेको बताएका छन्।

मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपाल राष्ट्र बैंकले सेवा निर्यात गर्ने सूचना तथा प्रविधि (आईटी) कम्पनीलाई विदेशमा लगानी गर्न २० हजार अमेरिकी डलरसम्मको विदेशी मुद्रा सटही निःशर्त दिने व्यवस्था गरिएको उल्लेख गरे।

advertisement

आइटी क्षेत्रमा आफ्नो ज्ञान, सीप प्रयोग गरेर विदेशी पुँजी भित्र्याउन सहयोग गर्ने व्यवसायीको सहजताका लागि यो व्यवस्था गरिएको उनको भनाइ छ।

उनले विदेशमा रहेका नेपाली नागरिकलाई स्वदेशमै फर्केर पनि सोही प्रकृतिको काम र पारिश्रमिकमा काम गर्नसक्ने वातावरण तयार गर्नुपर्ने जरुरी रहेको उल्लेख गर्दै सरकार गृहकार्य गरिरहेका पनि बताए। नेपालबाटै रिमोर्ट वर्क गरेर विदेशी मुद्रा आर्जन गर्ने वातावरण निर्माण गर्नुपर्ने युवाहरुको मागलाई राज्यले गम्भीर रूपमा नबुझेको पनि बताए।

उनले मुलुकको आर्थिक विकास र लगानीको वातावरण सिर्जना गर्न विद्यमान कानुनलाई अध्यादेशमार्फत संशोधन गर्नु उपयुक्त नठानेको स्पष्ट पार्दै उनले सामान्य नीति तथा नियममा आवश्यक संशोधन गर्ने कार्य भइरहेको पनि उल्लेख गरे।

उनका अनुसार हालसम्म आर्थिक कार्यविधि तथा आर्थिक उत्तरदायित्व नियमावली, भन्सार नियमावली र वन नियमावली संशोधन गरिएका छन्।

उनले कीर्तिपुरको डाँडामा बसेर महिनाको तीन लाख कमाउने कांग्रेस महामन्त्री गगन थापाको भनाइ वास्तविक र यथार्थपरक रहेको बताए।

उनले भने, ‘विदेशमा २० हजार डलरसम्मको आइटी कसैले आउटलेट खोल्छ अथवा बेस स्थापना गर्न चाहन्छ भने त्यसको लागि समेत सहजीरण गरिएको छ। आजभन्दा ८–९ वर्ष अगाडि ५ सय डलरसम्मको डलर कार्ड मात्रै दियो भने पनि नेपालबाटै रिमोर्ट वर्करको काम गरेर डलर भित्र्याउन सक्छौँ भन्ने युवाहरुको माग कसैले पनि बुझेन। अचानक कसैको बुद्धि पलाएर विभिन्न तहमा छलफल भइसकेपछि हिम्मत गरेर अहिले कीर्तिपुरको डाँडामा ल्यापटप लिएर महिनाको तीन लाख कमाउने भन्ने जुन गगन थापाज्युले भाषण गर्नुभयो त्यो वास्तविक कथा हो।’

प्रकाशित मिति: १५ पुस २०८२, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com