सुर्खेत । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ मा रहेको पर्यटकीय क्षेत्र सहिद पार्क नजिकको जंगलमा एक युवक र एक युवती मृत अवस्थामा फेला परेका छन्।
भैरव सामुदायिक वन तथा सहिद पार्क आसपासको जंगल क्षेत्रमा उनीहरूको शव भेटिएको हो। हालसम्म दुवै मृतकको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
प्रहरीका अनुसार बुधबार बिहान मर्निङ वाकमा निस्किएका स्थानीयले जंगलभित्र शव देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। सूचना प्राप्त भएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान सुरु गरेको छ।
घटनाको कारण तथा मृतकको पहिचान खुलाउने विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति: १६ पुस २०८२, बुधबार












प्रतिक्रिया