काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले पार्टीको ११औँ महाधिवेशनमा आफूहरूले अघि सारेका विषयवस्तुहरू चाँडै पार्टीभित्रै स्वीकार हुने विश्वास व्यक्त गरेका छन् ।
बुधबार बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै भट्टराईले ती प्रस्तावहरूले राजनीतिक क्षेत्र मात्र होइन, सञ्चारमाध्यम, बुद्धिजीवी तथा आम नागरिकको समेत ध्यान तानेको बताएका छन् । उनका अनुसार यी विषयलाई लिएर सुरु भएको बहस आगामी दिनमा अझ सशक्त रूपमा अघि बढ्नेछ ।
उपमहासचिव भट्टराईले ११औँ महाधिवेशनमा पार्टीको बहुआयामिक पुनर्गठन र नेतृत्व हस्तान्तरणको एजेन्डा अघि सारिएको स्मरण गराए । उनले आन्तरिक बहसका क्रममा आश र त्रासभन्दा माथि उठेर जोखिम मोलेर आफूहरू अघि बढेको उल्लेख गरे ।
पार्टीका कार्यकर्ता र नेताहरूलाई संयमित र एकताबद्ध रहन आग्रह गर्दै उनले पार्टी एकतालाई सुदृढ बनाउनेतर्फ सबैले आ–आफ्नो भूमिकामा सक्रिय हुनुपर्ने धारणा राखे ।
भट्टराईले आफूहरूले उठाएका मुद्दाले जनस्तरबाट सकारात्मक समर्थन पाएको दाबी गर्दै नजिकैको भविष्यमा ती प्रस्ताव पार्टी पंक्तिबाट पनि औपचारिक रूपमा अनुमोदन हुने विश्वास व्यक्त गरे ।
प्रकाशित मिति: १६ पुस २०८२, बुधबार











प्रतिक्रिया