काठमडाैं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले पार्टी कुनै पनि हालतमा विधिभन्दा बाहिर नजाने स्पष्ट पारेका छन् । बुधबार पोखरामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टी विधानमै परिवारवाद निषेध गरिएको र त्यसलाई कडाइका साथ पालना गरिने बताए ।

उनले भने, रास्वपा विधिसँग छ । विधिभन्दा बाहिर हामी कुनै हालतमा जाँदैनौं । परिवारवादमा पार्टी स्पष्ट छ, विधानले नै अनुमति दिँदैन । कथमकदाचित विधि नाघियो भने पनि राइट टु रिकलको व्यवस्था विधानमै छ ।

advertisement

समानुपातिकतर्फको बन्दसूचीमा परेका केही व्यक्तिबारे उठेका आलोचनाको सन्दर्भमा उनले पछिल्लो राजनीतिक घटनाक्रमका कारण छोटो समयमै निर्णय गर्नुपरेको बताए । “नयाँ ढंगले एक ठाउँमा उभिएर जाने निर्णय छोटो समयमै भयो । त्यसले तयारीका लागि पर्याप्त समय नपुगेको स्वीकार्छौं,” उनले भने, सूची बुझाउने समय र आन्तरिक सहमतिबीच अन्तिम समयमा निर्णय गर्नुपर्दा केही कमजोरी देखिन सक्ने अवस्था आयो ।

कुनै त्रुटि वा समस्या देखिएको खण्डमा त्यसलाई पुनरावलोकन गरिने उनको भनाइ थियो । “हामी सचेत छौं । थप दुई दिन समय लिएर जायज गुनासोहरू संकलन गर्दैछौं । यस अवधिमा आएका सबै उचित गुनासो सम्बोधन गरिनेछ, उनले भने, पार्टीले बोक्नुपर्ने कुनै व्यक्ति छैन ।

अनलाइनखबरले क्रमसंख्या र सूचीमा समेटिएका व्यक्तिहरूबारे प्रश्न गर्दा लामिछानेले वर्तमान राजनीतिक अवस्थाका कारण समाजका सबै तह र पेशाका नागरिकहरू राजनीतितर्फ आकर्षित भएको बताए । देशमा चलेको राजनीतिले राजनीतिमा नआएका मान्छेहरूलाई पनि जुर्मुराएको छ, उनले भने, राजनीति दुषित हुँदा सचेत नागरिकहरू स्वाभाविक रूपमा राजनीतिमा सक्रिय हुन थालेका छन् ।

उनले समावेशी प्रतिनिधित्व र सार्वजनिक चासोलाई ध्यानमा राख्दै सूचीलाई आवश्यक परे सुधार गरिने स्पष्ट पारे ।

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com