काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आगामी फागुन २१ गते तोकिएको निर्वाचनलाई आन्दोलनको एउटा रूपका रूपमा उपयोग गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।
बुधबार राप्रपा नेपालसँगको एकता घोषणासभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले मुलुकलाई जबर्जस्ती रूपमा निर्वाचनतर्फ धकेलिएको आरोप लगाए। यस्तो अवस्थामा राप्रपाका नेता–कार्यकर्ताको दायित्व चुनावलाई केवल मतदानको प्रक्रियामा सीमित नराखी राजनीतिक आन्दोलनको हिस्साका रूपमा प्रयोग गर्नु भएको उनले बताए।
‘अहिले मुलुक जबर्जस्ती चुनावतर्फ होमिएको छ। यस्तो अवस्थामा राप्रपाका नेता–कार्यकर्ताले फागुन २१ को चुनावलाई आन्दोलनको रूपमा उपयोग गर्नुपर्छ,’ लिङ्देनले भने।
उनले फागुन २१ को निर्वाचनले विद्यमान राजनीतिक समस्याको समाधान नगर्ने दाबीसमेत गरे। ‘हामीले सरकार र सबै राजनीतिक शक्तिहरूलाई निरन्तर आग्रह गर्दै आएका छौं—फागुन २१ को चुनाव समस्याको समाधान होइन। पछिल्लो समय भएको विद्रोह मध्यावधि वा २०८४ को चुनावलाई २०८२ मा सार्नका लागि गरिएको होइन,’ उनले स्पष्ट पारे।
लिङ्देनले देशलाई स्थायी निकास दिन राजा, राजनीतिक दल र वर्तमान नवयुवा पुस्तासहित सबै पक्षको सहभागितामा सर्वपक्षीय सम्मेलन आवश्यक रहेको बताए। ‘हामीले उठाउँदै आएका मुद्दाहरूको समाधान नगरी देशमा स्थायी शान्ति सम्भव छैन। सबै पक्षको सहभागितामा सर्वपक्षीय सहमति निर्माण गरेर मात्रै चुनावतर्फ जानुपर्छ भन्ने हाम्रो धारणा हो,’ उनले भने।
प्रकाशित मिति: १६ पुस २०८२, बुधबार













प्रतिक्रिया