काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेश सरकारको प्रमुख प्राथमिकता कृषि क्षेत्र रहेको बताएका छन्। नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेशले मुख्यमन्त्रीको स्वागतमा महोत्तरीको लालगढमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै उनले कृषिलाई केन्द्रमा राखेर नीतिगत तथा व्यावहारिक कार्यक्रम अघि बढाइने स्पष्ट पारे।

मुख्यमन्त्री यादवले मधेसको समृद्धिका लागि कृषिको आधुनिकीकरण अपरिहार्य रहेको उल्लेख गर्दै दुई वर्षभित्र सम्पन्न हुने गरी विभिन्न सिँचाइ आयोजना अघि बढिसकेको जानकारी दिए। सिँचाइ पूर्वाधारसँगै आधुनिक कृषि प्रणाली अवलम्बन गर्न किसानलाई प्रविधि, तालिम र सहयोग कार्यक्रम विस्तार गरिने उनले बताए।

advertisement

मधेस प्रदेश कृषि उत्पादनका दृष्टिले उर्बर भए पनि आवश्यक स्रोत–साधनको अभावका कारण किसानले अपेक्षित उत्पादन लिन नसकेको उनको भनाइ छ। अब प्रदेश सरकार किसानलाई आवश्यक कृषि सामग्री, प्रविधि तथा पूर्वाधार उपलब्ध गराउनेतर्फ केन्द्रित हुने मुख्यमन्त्री यादवले बताए।

कार्यक्रममा उनले शिक्षा र स्वास्थ्य क्षेत्रको अवस्था सुधार गर्न विशेष योजनासहित सरकार सक्रिय रूपमा लाग्ने बताए। साथै प्रदेशकै केन्द्रविन्दुमा पर्ने बर्दिबासदेखि ढल्केबरसम्म पर्यटन पूर्वाधार विकासका लागि विशेष योजना निर्माण गरिने जानकारी पनि दिए।

सो अवसरमा नेपाल होटल तथा पर्यटन व्यवसायी महासङ्घ मधेस प्रदेश समितिले मुख्यमन्त्री यादवलाई सम्मानपत्र प्रदान गरेको थियो। कार्यक्रम महासङ्घ मधेस प्रदेश अध्यक्ष हीरालाल गौतमको अध्यक्षतामा सम्पन्न भएको हो।

प्रकाशित मिति: १६ पुस २०८२, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com