काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, उज्यालो नेपाल पार्टीका संरक्षक तथा ऊर्जा मन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीचको समन्वयमा भूमिका खेलेका भूपदेव शाह अब रास्वपा सहमहामन्त्री बन्ने भएका छन्।
मेयर बालेनका प्रमुख स्वकीय सचिव समेत रहेका शाह बालेनको तर्फबाट वार्ता समितिमा सहभागी थिए। बालेन निकट स्रोतका अनुसार रास्वपामा सहमहामन्त्रीको पद हाल खाली भएकाले शाहलाई उक्त पद दिइने पक्का भइसकेको छ। ‘केन्द्रीय समितिले औपचारिक अनुमोदन गर्न बाँकी छ, तर सहमहामन्त्रीको जिम्मेवारी उनलाई निश्चित भइसकेको छ,’ स्रोतले जानकारी दिए।
भूपदेव शाह आगामी प्रतिनिधि सभाको निर्वाचनमा अछाम–२ बाट उम्मेदवारी दिने तयारीमा छन्। निर्वाचनको तयारीका लागि उनले सक्रिय भेटघाट र समन्वय तीव्र पारिरहेका छन्। आगामी फागुन २१ गते प्रतिनिधि सभा निर्वाचन हुँदैछ।
महानगरपालिकामा मेयर बालेनको उपस्थितिपछि शाहले सबैभन्दा विश्वासिलो सहायकको रूपमा काम गर्दै आएका थिए। सचिवालयका एक सदस्यका अनुसार, ‘उहाँले चुनाव लड्ने निर्णय गरिसक्नुभएको छ र मेयर बालेनको टीमबाट प्रत्यक्ष उम्मेदवारको नाम लगभग फाइनल भइसकेको छ।’
प्रकाशित मिति: १६ पुस २०८२, बुधबार













प्रतिक्रिया