काठमाडौं ।देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाले तराईका अधिकांश स्थानमा बिहीबार दिउँसो हुस्सु तथा कुहिरो लाग्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। केही प्रदेशमा आंशिक बदलीको अवस्था रहने अनुमान गरिएको छ।
महाशाखाका अनुसार हाल तराईका अधिकांश भू–भाग हुस्सुले ढाकिएका छन्। कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली देखिएको छ भने लुम्बिनी प्रदेशसहित कर्णाली, सुदूरपश्चिम तथा अन्य उच्च पहाडी र हिमाली भू–भागमा पनि आंशिक बदली रहने सम्भावना छ।
यसैगरी, कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति पनि तराईका केही स्थानमा हुस्सु कायमै रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशसहित उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ। साथै ती प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना कायमै रहनेछ।
महाशाखाले तराई क्षेत्रमा हुस्सुको प्रभावका कारण दैनिक जनजीवन, स्वास्थ्य तथा सडक यातायातमा आंशिक असर पर्न सक्ने चेतावनी दिएको छ। आवश्यक सतर्कता अपनाउन तथा दैनिक रूपमा जारी हुने अद्यावधिक मौसमी सूचनाको जानकारी लिन सर्वसाधारणलाई अनुरोध गरिएको छ।
प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार













प्रतिक्रिया