काठमाडौं  । ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत् २०२६ सुरु भएको छ। येशु ख्रिस्टको जन्म वर्षलाई आधार मानी पादरी ग्रेगोरियनले प्रारम्भ गरेकाले यस पात्रोलाई ग्रेगोरियन पात्रो भनिन्छ। नयाँ वर्ष २०२६ को अवसरमा यो पात्रो मान्नेहरूले आज एकअर्कामा शुभकामना आदान–प्रदान गर्दै उत्सव मनाइरहेका छन्।

ग्रेगोरियन पात्रो इस्वी सन् सौरमासको आधारमा मात्र तयार गरिएको बताइन्छ। यही कारण देखाउँदै आलोचकहरूले यस पात्रोलाई पूर्ण रूपमा वैज्ञानिक नभएको तर्क गर्दै आएका छन्।

advertisement

विभिन्न संवत्को अध्ययन तथा अनुसन्धानमा संलग्न डा. शास्त्रदत्त पन्तका अनुसार सौरमास र चन्द्रमासको समन्वयमा वैदिककालदेखि चल्दै आएको विक्रम संवत् जति वैज्ञानिक नभए पनि हाल इस्वी संवत्को प्रभाव विश्वव्यापी रूपमा विस्तार हुँदै गएको छ।

एक वर्ष ३६५ दिन ६ घण्टा ४९ मिनेट ६ सेकेन्डको हुने भए पनि दिनभन्दा साना समय एकाइहरू गणनामा नसमेटिँदा समय व्यवस्थापनमा फरक पर्न सक्ने बताइन्छ। त्यसको व्यवस्थापनका लागि विक्रम संवत् आधारमा गणना गरिने पात्रोमा तीन वर्षमा अधिकामासको व्यवस्था गरिएको छ।

इस्वी संवत् अनुसारको पात्रोमा ‘लिप इयर’ मार्फत समय समायोजन गर्ने प्रयास गरिए पनि यस विषयमा पश्चिमा देशहरूबीच समेत पूर्ण सहमति नभएको डा. पन्तले बताएका छन्।

पछिल्लो समय नेपालमा पनि अङ्ग्रेजी नयाँ वर्ष उल्लासपूर्वक मनाउने चलन बढ्दो छ। नयाँ वर्ष २०२६ को अवसरमा विदेशी पर्यटकको बढी उपस्थिति रहने काठमाडौँका ठमेल र बौद्ध क्षेत्र तथा उपत्यका बाहिरका पोखरा, सौराहालगायत स्थानमा विभिन्न कार्यक्रम आयोजना गरी नयाँ वर्षको स्वागत भइरहेको छ।

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com