काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले नेपाललाई ‘युक्रेन’ बनाउने योजनाबद्ध प्रयास भइरहेको आशंका व्यक्त गर्दै, सबै कम्युनिष्ट, वामपन्थी, प्रगतिशील, देशभक्त र लोकतन्त्रप्रेमी शक्तिहरूबीच राष्ट्रिय एकता निर्माणको आह्वान गरेका छन्।
अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा जारी शुभकामना सन्देशमा खनालले अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरू र उनीहरूको देशभित्रका दलालहरूले नेपाललाई अस्थिरता, हिंसा र विध्वंसतर्फ धकेल्न सक्रिय रहेको आरोप लगाएका छन्। उनका अनुसार विदेशी पैसा र प्रलोभनमार्फत राजनीतिक दल र नेताविरुद्ध दुष्प्रचार गर्दै नेपाली समाजलाई परिवर्तनको मार्गबाट विचलित गर्ने प्रयास भइरहेको छ।
खनालले भने, “अन्तर्राष्ट्रिय साम्राज्यवादी शक्तिहरू र देश भित्रका उनीहरूको दलालहरूले नेपाललाई ‘युक्रेन’ बनाउने योजनामा छन्। उनीहरूले विदेशी पैसा र प्रलोभनको माध्यमबाट दुष्प्रचार गर्दै मुलुकलाई हिंसा र विध्वंसतर्फ धकेल्ने प्रयास गरिरहेका छन्।”
उनले विश्व शक्ति सन्तुलनमा तीव्र परिवर्तन भइरहेको उल्लेख गर्दै, पुरानो पश्चिमी प्रभुत्वमा आधारित विश्व व्यवस्था विघटन हुँदै गएको र न्याय तथा समानतामा आधारित नयाँ विश्व व्यवस्था निर्माण भइरहेको दाबी गरेका छन्। यस ऐतिहासिक प्रक्रियाको असर नेपालमा पनि परेको र देश गहिरो सामाजिक–आर्थिक संकटमा रहेको खनालको भनाइ छ।
खनालले देशमा दीर्घकालीन दिशाहीनता, अविकास, कुशासन, भ्रष्टाचार, बेरोजगारी र युवाको पलायनका कारण संकट बढिरहेको उल्लेख गरेका छन्। गत भदौ २४ गते ‘जेन्जी आन्दोलन’को नाममा भएको तोडफोड, आगजनी र लुटपाटले देशलाई थप संकटतर्फ धकेलेको उनले बताएका छन्।
सामाजिक–राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै खनालले संविधान मिचेर भए पनि नयाँ सरकार बनेको र प्रतिनिधिसभा निर्वाचन घोषणा भएको बताए। उनले भने, निर्वाचन अपरिहार्य भए पनि शान्तिपूर्ण, निष्पक्ष र धाँधलीरहित निर्वाचनका लागि पूर्वाधार अझै तयार नभएको ठम्याइ छ।
खनालले निर्वाचनसँगै संविधान परिमार्जन, सामाजिक–आर्थिक संरचनामा रूपान्तरण, शिक्षा र स्वास्थ्य सुधार, राष्ट्रियता सुदृढीकरण, परराष्ट्र नीति सन्तुलन, सुशासन, भ्रष्टाचार नियन्त्रण र युवाका लागि रोजगारी सिर्जना जस्ता मुद्दा एकसाथ समाधान गर्न आवश्यक रहेको बताएका छन्।
व्यापक राष्ट्रिय एकता आवश्यक भएको भन्दै खनालले १७ वटा वाम समूहलाई एकताबद्ध गरेर नयाँ नेपाली कम्युनिष्ट पार्टी निर्माण गरिएको जानकारी पनि दिएका छन्। चार आधारभूत सिद्धान्तको आधारमा सबै वाम र कम्युनिष्ट शक्तिलाई वाम मोर्चामा आबद्ध गराउने लक्ष्य रहेको उनले बताए।
खनालले नयाँ वर्ष २०२६ लाई एकता, परिवर्तन, सुदृढीकरण र रूपान्तरणको वर्ष बनाउन सबै देशभक्त र लोकतान्त्रिक शक्तिहरू एकजुट हुनुपर्ने आह्वान गरेका छन्।
प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार











प्रतिक्रिया