काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाउँदै वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।

पक्राउ परेकामा काठमाडौं महानगरपालिका–१६ बस्ने उदयपुरगढी गाउँपालिका–३, उदयपुरका २६ वर्षीय विश्व ठकुरी उर्फ विश्व विक्रम सेन, टोखा नगरपालिका–९ बस्ने त्रियुगा नगरपालिका–१२, उदयपुरका ४४ वर्षीय अर्जुनकुमार निरौला, काठमाडौं महानगरपालिका–१० का ४८ वर्षीय प्रेम श्रेष्ठ, काठमाडौं महानगरपालिका–७ बस्ने फिदिम नगरपालिका–१२, पाँचथरका ३८ वर्षीय पूर्णबहादुर तुम्ब्रोक तथा ललितपुर महानगरपालिका–२३ बस्ने पनौती नगरपालिका–१२, काभ्रेका ४० वर्षीय राजकुमार खड्का रहेका छन् ।

advertisement

प्रहरीका अनुसार विश्व ठकुरी, अर्जुनकुमार निरौला र प्रेम श्रेष्ठले एन्डोरा पठाइदिने भन्दै ९ जना पीडितबाट ५९ लाख ५० हजार रुपैयाँ असुली गरेका थिए । त्यस्तै, पूर्णबहादुर तुम्ब्रोकले अष्ट्रिया पठाइदिने प्रलोभनमा २ जना पीडितबाट ४ लाख रुपैयाँ लिएको र राजकुमार खड्काले स्पेन पठाइदिने भन्दै १ जना पीडितबाट ८ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको उजुरी परेको थियो ।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले विश्व, अर्जुन, प्रेम र पूर्णबहादुरलाई काठमाडौं महानगरपालिका–९ क्षेत्रबाट तथा राजकुमारलाई काठमाडौं महानगरपालिका–७ क्षेत्रबाट पक्राउ गरेको हो ।

पक्राउ परेका विश्व ठकुरी, अर्जुनकुमार निरौला र प्रेम श्रेष्ठलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ । यस्तै, पूर्णबहादुर तुम्ब्रोक र राजकुमार खड्कालाई वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com