काठमाडौं । नेकपा एमालेको समानुपातिक उम्मेदवार सूचीमा विभिन्न २१ जिल्लाबाट प्रतिनिधित्व रहेको छैन भन्ने तथ्य सार्वजनिक भएको छ। निर्वाचन आयोगका अनुसार एमालेले बुझाएको बन्दसूचीमा कुल ५६ जिल्लाबाट प्रतिनिधित्व भएको देखिन्छ।
प्रतिनिधित्व नपाएको जिल्लाहरूमा मकवानपुर, सिन्धुपाल्चोक, दोलखा, ओखलढुंगा, गोरखा, बागलुङ, ताप्लेजुङ, तेह्रथुम, रसुवा, मनाङ, नवलपुर (नवलपरासी पूर्व), रूपन्देही, सल्यान, पश्चिम रूकुम, दैलेख, डोल्पा, डोटी, जुम्ला, बाजुरा, बैतडी र डडेल्धुरा रहेका छन्। झापाबाट भने ९ जना प्रतिनिधि चयन भएका छन्।
झापाबाट चयन भएका उम्मेदवारहरूमा जनजाति र महिला कलस्टरमा अनिता सुब्बा, जनजाति पुरुषमा विद्यानन्द राजवंशी, खसआर्य महिलामा नर्मदादेवी सिवाकोटी, मेकुका काफ्ले र लता प्रसाईं, दलित महिलामा निता घतानी, दलित पुरुषमा जितु दर्जी गौतम र सोम पोर्तेल, मधेशी महिलामा बिना शाह महतो रहेका छन्।
समानुपातिक तर्फको बन्दसूची बुझाउने समय यही पुस १३ र १४ गते तोकिएको थियो। एमालेले निर्धारित समयमै ११० जनाको नामावली आयोगमा पेश गरेको थियो। प्रतिनिधिसभा २७५ सदस्यीय हुने भएकाले ११० जना समानुपातिक र १६५ जना प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुनेछन्। प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता माघ ६ गते हुने छ।
निर्वाचन आयोगले प्राप्त बन्दसूचीको अध्ययन सुरु गरेको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार, ‘कानुन बमोजिम कलस्टर अनुसार दलहरूको सूचीमा नाम सही ढंगले समावेश भए/नभएको जाँच भइरहेको छ। अध्ययन पश्चात दलहरूलाई २० पुससम्म आवश्यक संशोधनका लागि पत्राचार गरिनेछ।’
दलहरूले आवश्यक संशोधन २७ पुससम्म गर्न सक्नेछन्। यदि कुनै उम्मेदवारले नाम फिर्ता लिन चाहेमा त्यसको समय २८ पुसमा दिइनेछ। नाम फिर्ता लिएको खण्डमा सोही समूहको अर्को उम्मेदवारको नामावली ३० पुसमा आयोगमा पेश गर्नुपर्ने व्यवस्था छ।
उम्मेदवार सूचीको प्रारम्भिक प्रकाशन पछि योग्यतासम्बन्धी दाबी–विरोधको समय माघ ५–१० सम्म हुनेछ। आयोगले ११–१७ माघसम्म दाबी–विरोधको जाँचबुझ गरी निर्णय गर्नेछ। अन्ततः २० माघ बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म उम्मेदवारको समानुपातिक सूची अन्तिम रूपमा प्रकाशित गरिनेछ।
मतदान २१ फागुन बिहान ७ बजेबाट बेलुकी ५ बजे सम्म सम्बन्धित मतदान केन्द्रमा सञ्चालन हुनेछ।
प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार













प्रतिक्रिया