काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आगामी निर्वाचनका लागि विभिन्न निर्वाचन क्षेत्रबाट उम्मेदवारका रूपमा सिफारिस गर्ने क्रम तीव्र बनेको छ । प्रचण्ड स्वयंले भने कुन क्षेत्रबाट उम्मेदवारी दिने भन्ने विषयमा अहिलेसम्म निर्णय गरेका छैनन् ।

अघिल्लो निर्वाचनमा गोरखा–२ बाट निर्वाचित भएका प्रचण्ड फागुन २१ गते हुने निर्वाचनमा कहाँबाट प्रतिस्पर्धा गर्ने भन्ने विषय अझै अनिश्चित रहेको पार्टी नेताहरूले बताएका छन् । हालसम्म नुवाकोट–१, सिन्धुली–२, रामेछाप, महोत्तरी–४, गोरखा–१, रोल्पा, कैलाली–३, काभ्रे, कास्की–१ लगायतका क्षेत्रबाट उनको नाम उम्मेदवारका रूपमा सिफारिस भइसकेको छ ।

advertisement

यसैबीच, रुकुम (पूर्व) बाट पनि प्रचण्डलाई उम्मेदवार बनाउन माग उठेको छ । हिजो रुकुम पूर्वका नेता कैलाश मल्लसहित ७३ जना नेता–कार्यकर्ताले पेरिसडाँडामा पुगेर पार्टी नेतृत्वलाई मागपत्र बुझाएका छन् । उनीहरूले यसअघि सिफारिस गरिएका उम्मेदवारहरू बदर गरी संयोजक प्रचण्डलाई उम्मेदवार बनाइनुपर्ने माग गरेका हुन् ।

रुकुम (पूर्व) लाई तत्कालीन माओवादी आन्दोलनको बलियो आधार क्षेत्रका रूपमा लिइन्छ । पछिल्लो निर्वाचनमा सो क्षेत्रबाट माओवादी उम्मेदवार पूर्णबहादुर घर्ती भारी मतसहित विजयी भएका थिए । पार्टीभित्रका केही नेताहरूले सहज जितको सम्भावना रहेको भन्दै प्रचण्डका लागि रुकुम पूर्व उपयुक्त विकल्प हुन सक्ने सुझाव दिएका छन् ।

स्थानीय नेताहरूका अनुसार रुकुम पूर्व ऐतिहासिक रूपमा दस वर्षे जनयुद्धको केन्द्र रहे पनि २०६४ पछि निर्वाचित जनप्रतिनिधिहरूले अपेक्षित विकास र सामाजिक न्याय दिन नसकेको जनगुनासो छ । यही कारण सो क्षेत्रबाट प्रचण्डलाई प्रतिनिधि बनाउनुपर्ने माग उठिरहेको उनीहरूको भनाइ छ ।

पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले संयोजक प्रचण्डको निर्वाचन क्षेत्रबारे आन्तरिक छलफल जारी रहेको बताए । उनले अहिलेसम्म कुनै क्षेत्र टुंगो नलागेको स्पष्ट गरे ।
“विभिन्न क्षेत्रबाट सिफारिस आइरहेका छन् । तर अहिलेसम्म कहाँबाट उम्मेदवारी दिने भन्ने निर्णय भएको छैन, उनले नेपाल प्रेससँग भने ।

अर्का नेता लीलामणि पोखरेलले पनि संयोजक प्रचण्डसहित शीर्ष नेताहरूले निर्वाचन क्षेत्रबारे औपचारिक धारणा नदिएको बताए ।
“बिस्तारै छलफल हुँदै जान्छ । अहिलेसम्म कसैले पनि यो क्षेत्रबाट उठ्छु भनेको छैन, उनले भने ।

प्रचण्डले हालसम्म एउटै निर्वाचन क्षेत्रबाट दोहोर्‍याएर चुनाव नलडेको इतिहास छ । २०६४ को संविधानसभा निर्वाचनमा उनले काठमाडौं–१० र रोल्पा–२ बाट जित निकालेका थिए । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा काठमाडौं–१० र सिराहा–३ बाट उम्मेदवारी दिँदा काठमाडौंमा पराजित भए पनि सिराहाबाट निर्वाचित भएका थिए ।

२०७४ को निर्वाचनमा नेकपा (एमालेसँग एकीकरणपछि) चितवन–३ बाट निर्वाचित भएका प्रचण्डले २०७९ को निर्वाचनमा चितवन छाडेर गोरखा–२ रोजेका थिए । त्यहाँ जनयुद्धकालीन सहयात्री तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको समर्थनमा उनले जित हात पारेका थिए ।

यसपटक गोरखा–२ बाट भने प्रचण्डको नाम सिफारिस भएको छैन । सो क्षेत्रमा नारायणकाजी श्रेष्ठलगायतका नेताहरूको नाम सिफारिस भएको छ भने गोरखा–१ बाट मात्र प्रचण्डको नाम आएको छ ।

पार्टीभित्रका नेताहरूका अनुसार प्रचण्ड यसपटक पनि सहज जितको सम्भावना रहने निर्वाचन क्षेत्रको खोजीमा केन्द्रित छन् । रोल्पा, रुकुम पूर्वलगायत क्षेत्रलाई सम्भावित विकल्पका रूपमा चर्चा गरिए पनि यसबारे अन्तिम निर्णय हुन बाँकी नै छ ।

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com