काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकको अध्यागमन प्रणालीलाई समयअनुकूल थप व्यवस्थित र आधुनिक बनाउनु अपरिहार्य रहेको बताएका छन् । बिहीवार विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीको शुभारम्भ गर्दै उनले राष्ट्रिय सुरक्षा र सुशासनका लागि अध्यागमन प्रणालीको सुधार आवश्यक रहेको उल्लेख गरे ।

गृहमन्त्री अर्यालले अन्तरदेशीय तथा सीमापार अपराध विश्वव्यापी रूपमा बढ्दै गएको उल्लेख गर्दै यस्ता गतिविधिको नियन्त्रण र न्यूनीकरणका लागि राष्ट्रिय सुरक्षा व्यवस्थापन प्रणालीलाई थप सुदृढ गर्नुपर्ने बताए । उनका अनुसार यसअघि नेपाली नागरिकको विदेश प्रस्थान व्यवस्थापनमा केन्द्रित अध्यागमन प्रणाली अब विदेशी नागरिकको नेपाल प्रवेश, बसोबास र आवागमनलाई समेत प्रभावकारी रूपमा व्यवस्थापन गर्नेतर्फ केन्द्रित हुनुपर्ने अवस्था आएको छ ।

advertisement

उनले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली लागू भएसँगै विदेशी नागरिकको आवतजावत व्यवस्थित, सुरक्षित र प्रभावकारी हुने विश्वास व्यक्त गरे । उक्त प्रणालीले अध्यागमन कानूनअनुसार विदेशी नागरिकको आवागमन अभिलेखलाई सुदृढ बनाउने, उनीहरूको सुरक्षा थप मजबुत गर्ने र विपद्का बेला उद्धार तथा खोजी कार्यमा सहजीकरण गर्ने उनले बताए ।

त्यसैगरी, नेपालमा विदेशी नागरिक संलग्न अवाञ्छित गतिविधि नियन्त्रण गर्न, विभिन्न अपराधको अनुसन्धानलाई प्रभावकारी बनाउन र अन्तर्राष्ट्रियस्तरमा नेपाललाई सुरक्षित पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्न उक्त प्रणालीले महत्वपूर्ण भूमिका खेल्ने गृहमन्त्री अर्यालको भनाइ छ ।

कार्यक्रममा गृहमन्त्री अर्यालले सरकारले विधिको शासन कायम गर्ने, भ्रष्टाचारमुक्त प्रशासन र सुशासन प्रवर्द्धन गर्ने लक्ष्यका साथ अघि बढिरहेको पनि बताए । साथै, निर्वाचनमार्फत जिम्मेवारी हस्तान्तरण गर्ने उद्देश्यले सरकार पूर्ण रूपमा निर्वाचन तयारीमा केन्द्रित रहेको उनले स्पष्ट पारे ।

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com