काठमाडौं । नेपाली कांग्रेसभित्रको विवाद उत्कर्षमा पुगेको छ। महामन्त्री द्वय गगन थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनका लागि अगाडि बढेसँगै पार्टीभित्रको विवाद फूटतर्फ अग्रसर भएको टिप्पणी भइरहेको छ।

यसैबिचमा दुवै महामन्त्रीले बिहीबार साँझ एक विज्ञप्ति सार्वजनिक गर्दै पार्टीको नियमित महाधिवेशन स्थगित भएको घोषणा गरेका छन्। दुवै जनाको संयुक्त हस्ताक्षरमा जारी विज्ञप्तिमा ‘नियमित महाधिवेशन स्थगन÷ विकल्प विशेष महाधिवेशन’ भनिएको छ।

advertisement

कांग्रेस केन्द्रीय कार्यसमितिको मंसिर १५ गते सकिएको बैठकले पुस २६ देखि २८ गतेसम्मका लागि १५ औँ महाधिवेशनको मिति तय गरेको थियो। सो महाधिवेशन क्रियाशील सदस्यताको काम नटुंगिएकाले असम्भव बनेको छ।

सोही महाधिवेशनको कार्य तालिका आगामी बैठकबाट अनुमोदन गर्ने गरी जारी ‘सूचनामार्फत स्थगित गरिएको’ महामन्त्रीहरूले घोषणा गरेका छन्। विज्ञप्तिमा नियमित महाधिवेशनको कार्य तालिका स्थगित भए पनि क्रियाशील सदस्यता इन्ट्रीको काम जारी राख्न भनिएको छ।

यस्तै ‘विशेष महाधिवेशन वैधानिक दायित्व’ भन्दै महामन्त्री द्वय थापा र शर्माले ‘नियमित महाधिवेशन निर्धारित समयमै सम्पन्न हुन नसक्ने अवस्था सिर्जना भएपछि फेरि पनि विकल्पका रूपमा विशेष महाधिवेशन नै अघि आएको’ भनेका छन्।

‘अतः पार्टी विधानको दफा १७(२) बमोजिम विशेष महाधिवेशनसम्बन्धी मागलाई सम्बोधन गर्नु केन्द्रीय कार्यालयको जिम्मेवारी हो,’ विज्ञप्तिमा भनिएको छ, ‘उक्त जिम्मेवारीअन्तर्गतका कार्यहरू सम्भव भएसम्म सर्वसम्मतिले अगाडि बढाइनेछ।’

प्रकाशित मिति: १७ पुस २०८२, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com