काठमाडौं । कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ।
पार्टीको १५औँ महाधिवेशन समयमा हुन नसकेपछि उत्पन्न राजनीतिक परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको हो। १५औँ महाधिवेशन नहुँदा पार्टी विधानअनुसार विशेष महाधिवेशनको प्रक्रिया अघि बढाउनुपर्ने माग उठ्दै आएको छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले गत असोज २९ गते कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई हस्ताक्षर बुझाउँदै पुस २८ गतेभित्र विशेष महाधिवेशन आयोजना गर्न माग गरेका थिए। तर सो मागअनुसार प्रक्रिया अघि बढ्न सकेन।
यसबीच केन्द्रीय समितिमा करिब डेढ महिना छलफलपछि मंसिर १५ गते पुस २६ देखि २८ गतेसम्म १५औँ महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरिएको थियो। तर उक्त कार्यतालिकाअनुसार वडा र पालिका अधिवेशन हुन सकेका छैनन्। नियमित महाधिवेशन कार्यतालिका प्रभावित हुँदा पनि कांग्रेसले मातहत समितिहरूलाई औपचारिक पत्राचारसमेत नगरेको अवस्था छ।
सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का विशेष महाधिवेशनको पक्षमा देखिएका छैनन्। तर विधान कार्यान्वयनको दबाब बढेपछि महामन्त्रीद्वय थापा र शर्माले विशेष महाधिवेशन आह्वान गर्ने तयारी अघि बढाएका छन्।
सोहीअनुसार पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपस्थित हलसमेत बुक गरिएको छ। तर देउवा पक्षले आम निर्वाचन नजिकिँदै गर्दा विशेष महाधिवेशन गर्नु उपयुक्त नहुने तर्क गर्दै आएको छ।
महामन्त्रीहरू विशेष महाधिवेशनतर्फ सक्रिय भएपछि पार्टीभित्रको विवाद र अवस्थाबारे छलफल गर्न केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइएको हो।
प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार












प्रतिक्रिया