काठमाडौं । कांग्रेसका महामन्त्री गगन थापाले आगामी निर्वाचनअघि नै राजनीतिक दल र नागरिक शक्तिबीच न्यूनतम राष्ट्रिय समझदारी निर्माण गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।

जेनजी मुभमेन्टसँग आबद्ध युवाहरू तथा विभिन्न नागरिक समूहसँग भएका छलफलका अनुभव साझा गर्दै थापाले इतिहासले समेत चुनावअघि सहमति अपरिहार्य रहेको पुष्टि गरिसकेको बताएका हुन्। उनले समूहगत र व्यक्तिगत भेटघाटका क्रममा जेनजी मुभमेन्टमा सक्रिय युवाहरूसँग यस्ता विषयमा छलफल भएको उल्लेख गरे। केही समयअघि प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा समेत उक्त मुभमेन्टसँग आबद्ध युवाहरूको सहभागिता रहेको उनले स्मरण गराए।

advertisement

‘त्यस्ता छलफल र त्यहाँ उठेका विषयहरूलाई मैले नयाँ र पुराना सबै पार्टीका साथीहरूसँग निरन्तर साझा गर्दै आएको छु,’ थापाले भने।

उनका अनुसार २०६२–६३ को जनआन्दोलनअघि पनि देश यस्तै राजनीतिक अवस्थाबाट गुज्रिएको थियो। त्यस बेला संसद पुनःस्थापनाको मागसहित सडक आन्दोलन भइरहे पनि अन्ततः राजनीतिक दलहरूबीच समझदारी बनेको र सोही समझदारीकै आधारमा संसद पुनःस्थापित भएको उनले बताए।

पुनःस्थापित संसदको पहिलो बैठकले गरेको ऐतिहासिक घोषणाले नेपालको लोकतान्त्रिक यात्रालाई नयाँ दिशा दिएको थापाको भनाइ छ। ‘त्यो घोषणा केवल औपचारिक थिएन,’ उनले भने, ‘त्यसले लोकतन्त्रलाई समावेशी बनाउने स्पष्ट प्रतिबद्धता व्यक्त गर्‍यो। समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्ने तथा नेपालको बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक चरित्रलाई राज्य संरचनामा प्रतिबिम्बित गर्ने लक्ष्य त्यस घोषणाको मूल आत्मा थियो।’

थापाका अनुसार सोही घोषणाको निरन्तरताका रूपमा अन्तरिम संविधान निर्माण भयो र अन्तरिम संविधान हुँदै वर्तमान संविधानसम्म आइपुग्दा समेटिएका सबै प्रगतिशील विषयहरूको जरो पुनःस्थापित संसदको पहिलो घोषणासँग जोडिएको छ।

आजको सन्दर्भमा पनि पार्टीगत सीमाभन्दा माथि उठेर सोच्न सक्ने नागरिक नेता, अगुवा र सचेत व्यक्तिहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उनले बताए। ‘अनुभवी पुरानो पुस्ताका नागरिक अगुवासँगै ऊर्जाशील र सचेत नयाँ पुस्ताका युवाहरू पनि यस प्रक्रियामा सहभागी हुनुपर्छ,’ उनले जोड दिए।

राजनीतिक प्रतिस्पर्धा स्वाभाविक भए पनि त्यसलाई मात्रै सबैथोक बनाउन नहुने उनको भनाइ छ। ‘सबै पार्टीमा जाने, चुनाव लड्ने वा नलड्ने आ–आफ्ना पाटा हुन्। हामी लड्छौं, जित्छौं, हार्छौं। तर पार्टीभन्दा बाहिर रहेर साझा राष्ट्रिय एजेन्डामा केन्द्रित भएर सोच्ने र काम गर्ने स्पेस पनि आवश्यक छ,’ उनले भने।

थापाले सेप्टेम्बर ८ र ९ मा सार्वजनिक रूपमा उठाइएका सुशासन, भ्रष्टाचार नियन्त्रण र संस्थागत सुधारका एजेन्डालाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए। फरक–फरक राजनीतिक दललाई एउटै ठाउँमा ल्याई राउन्ड टेबल संवाद गर्ने र नयाँ–पुराना सबै धारलाई समेटेर राष्ट्रिय संवाद सुरु गर्नु आजको आवश्यकता भएको उनले बताए।

‘२०४२/४३ को आन्दोलनअघि जसरी चुनावअघि न्यूनतम समझदारी बनाइएको थियो, आज पनि त्यस्तै साझा समझदारी बनाऔं,’ थापाले भने, ‘चुनावपछि संसद बन्छ, सरकार चल्छ। तर संविधान संशोधन, निर्वाचन प्रणाली सुधार, सुशासन, भ्रष्टाचार नियन्त्रण र संस्थागत सुधारजस्ता ठूला विषयमा दल र नागरिक शक्तिबीच सहमति अनिवार्य छ।’

सोही उद्देश्यका साथ आफूले भिडियो र विचारमार्फत जेनजी मुभमेन्टमा संलग्न युवाहरूलाई संवादको आह्वान गरेको थापाले जानकारी दिए। ‘तपाईंहरूसँग भएका विचार, सुझाव र अनुभव लिएर सानो तहबाट छलफल सुरु गरौं। आवश्यक परे यसलाई ठूलो राष्ट्रिय संवादसम्म लैजाऔं,’ उनले आग्रह गरे ।

प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com