काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा सदस्य निर्वाचनको मिति तोकिए पनि हालसम्म देशमा निर्वाचनका लागि आवश्यक वातावरण नबनेको टिप्पणी गरेका छन्। नयाँ वर्ष सन् २०२६ को अवसरमा प्रवासी नेपाली मञ्चको अन्तर्राष्ट्रिय समितिलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उनले सरकारले निर्वाचन अनुकूल वातावरण निर्माणतर्फ गम्भीर पहल नगरेको आरोप लगाए।
अध्यक्ष ओलीले निर्वाचनको नाममा लोकतान्त्रिक प्रक्रियाको दुरुपयोग गर्दै लोकतन्त्र नै कमजोर पार्ने प्रयास हुनसक्ने जोखिम औंल्याए। उनले राजनीतिक नेतृत्वविरुद्ध झुटा मुद्दा लगाउने, अशान्ति फैलाउने, लुटिएका हतियार फिर्ता नहुने अवस्था रहनु, जेलब्रेकमा संलग्न व्यक्तिलाई अगाडि सार्ने र निर्वाचनका बेला बुथ कब्जा गर्ने प्रयासजस्ता गतिविधिले स्वच्छ निर्वाचन असम्भव बन्न सक्ने बताए। ‘यदि निर्भय रूपमा मतदान गर्न नपाइने अवस्था रह्यो भने यस्तो निर्वाचन लोकतन्त्रलाई बलियो बनाउने होइन, कमजोर बनाउने नाटक मात्र हुनेछ,’ उनले भने।
निर्वाचनमा जनताको अभिमत स्वतन्त्र र स्वेच्छाले अभिव्यक्त हुन पाउनुपर्नेमा जोड दिँदै अध्यक्ष ओलीले शान्तिपूर्ण र स्वच्छ वातावरणमा निर्वाचन सम्पन्न भए एमाले निर्वाचनमा सहभागी भएर विजयी हुने दाबी गरे। उनले निर्वाचन जुनसुकै बेला भए पनि त्यसका लागि तयारी अवस्थामा रहन पार्टी पंक्तिलाई निर्देशन दिए। ‘हाम्रो सामर्थ्यलाई परिणाममा बदल्ने गरी लाग्नुपर्छ, निर्वाचनका लागि सबै हिसाबले तयार रहनुस्,’ उनले भने।
तर वर्तमान राजनीतिक संकटको निकासका लागि सबैभन्दा उपयुक्त उपाय भने ‘विघटित प्रतिनिधिसभाको पुनर्स्थापना’ भएको ओलीको धारणा छ। संसद पुनर्स्थापना भएपछि त्यहीँबाट समस्याको समाधान खोजिनुपर्ने पार्टीको स्पष्ट मत रहेको उनले बताए।
संसद विघटनसम्बन्धी मुद्दामा विगतमा सर्वोच्च अदालतले करिब दुई महिनाभित्र फैसला सुनाउँदै आएको स्मरण गराउँदै अध्यक्ष ओलीले यो कुनै व्यक्तिको निजी सरोकार नभई राष्ट्रकै सरोकारको विषय भएकाले समयमै निर्णय आउनु अपरिहार्य रहेको उल्लेख गरे।
गत भदौ २३ र २४ गते भएका घटनाको स्मरण गर्दै अध्यक्ष ओलीले सन् २०२५ मा नेपालमा मानवता विरोधी, नृशंस र अमानवीय व्यवहार भएको टिप्पणी गरे। ती घटनाहरू नेपालीपन र नेपाली मनसँग मेल नखाने र देशका लागि अत्यन्तै दुःखद तथा असहज भएको उनले बताए।
प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार













प्रतिक्रिया