काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी विभाजनको पक्षमा आफू कहिल्यै नरहेको स्पष्ट पारेका छन्। पार्टीभित्र देखिएको महाधिवेशनसम्बन्धी विवादका बीच देउवाले आफ्नै निवास महाराजगन्जमा २५ जना केन्द्रीय सदस्यहरूसँग छलफल गर्दै आपसी सहमति र एकताका साथ अघि बढ्ने वातावरण बनाउन आग्रह गरेका हुन्।
भेटमा सहभागी एक केन्द्रीय सदस्यका अनुसार सभापति देउवाले पार्टी एकता जोगाउन आफू प्रतिबद्ध रहेको बताएका थिए। ‘सभापतिज्यूले विभाजन नहोस्, मिलेर अगाडि जाऔँ भन्ने चाहना मसँग पहिलेदेखि नै छ भन्नुभयो,’ ती केन्द्रीय सदस्यले बताए। केन्द्रीय सदस्यहरूले विशेष महाधिवेशनको नाममा पार्टी विभाजनतर्फ जान सक्ने खतरा औंल्याउँदै त्यसलाई रोक्न सभापति देउवालाई आग्रह गरेका थिए।
उक्त भेटमा केन्द्रीय सदस्यहरू आङगेलु शेर्पा, पुष्पा भुसाल, डा. डिला सङ्ग्रौला लगायत सहभागी थिए। केन्द्रीय सदस्य शेर्पाका अनुसार सभापति देउवासँग भेटपछि आफूहरू महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि संवादमा रहेको जानकारी दिइएको छ।
बिहीबार महामन्त्रीद्वय थापा र शर्माले नियमित महाधिवेशन स्थगन गर्दै विशेष महाधिवेशनको मिति घोषणा गरेपछि कांग्रेसभित्र महाधिवेशन विवाद थप चर्किएको छ। उक्त विवाद समाधानका लागि पार्टीले शुक्रबार दिउँसो ३ बजे कार्यसम्पादन समिति बैठक बोलाएको छ।
भेटका क्रममा केन्द्रीय सदस्यहरूले क्रियाशील सदस्यताको टुंगो लगाएर वडा तहका अधिवेशनहरू तत्काल सुरु गर्नुपर्ने सुझाव दिएका थिए। एक केन्द्रीय सदस्यले भने, ‘विशेष महाधिवेशन एकपक्षीय रूपमा आह्वान गर्दा पार्टी विभाजनको जोखिम बढेको छ। पार्टी जोगाउन र नियमित महाधिवेशनको प्रक्रिया अघि बढाउन सभापतिलाई गम्भीर पहल गर्न आग्रह गरेका छौँ।’
पुस १६ गतेका लागि तय गरिएको वडा अधिवेशन प्रभावित भएपछि महामन्त्रीद्वय थापा र शर्माले बिहीबार विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशन स्थगन गरी पुस २७ गते विशेष महाधिवेशन घोषणा गर्ने तयारी गरिरहेका छन्।
प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार













प्रतिक्रिया