काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा साझा उम्मेदवारी र सहकार्यमार्फत अघि बढ्ने उद्देश्यका साथ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र नेकपा माओवादीबीच सघन वार्ता सुरु भएको छ।

स्रोतका अनुसार, कात्तिक १९ गते तत्कालीन नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत १० घटक मिलेर नेकपा बनेपछि विप्लव नेतृत्वको साबिक नेपाल कम्युनिस्ट पार्टी एकता प्रक्रियाबाट बाहिरिएको थियो। त्यसपछि निर्वाचन आयोगमा दल दर्ता गर्दा विप्लवले आफ्नो पार्टीको नाम परिवर्तन गरी माओवादी राखेका थिए।

advertisement

तर, निर्वाचनमार्फत नेपालमा कम्युनिस्ट पार्टीलाई सघन घेराबन्दी, कमजोर पार्ने र अन्ततः सखाप पार्ने प्रयास भइरहेको निष्कर्ष आएपछि यी दुई पार्टी फेरि नजिकिएका छन्। माघ ६ गते प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता हुने समयअघि दुवै पार्टीका शीर्ष नेताहरू सक्रिय रूपमा ‘ब्रेक थ्रु’ गर्ने प्रयासमा रहेका स्रोतले बताएको छ।

स्रोतका अनुसार, ‘नेकपा माओवादीसँग सहकार्य र एकता गर्ने विषयमा छलफल सकारात्मक रूपमा अगाडि बढिरहेको छ। कम्युनिस्ट पार्टीलाई कमजोर पार्न चौतर्फी दबाब र षड्यन्त्र भइरहेको छ। समय र वस्तुनिष्ठ आवश्यकताले सबै वामपन्थी, समाजवादी र कम्युनिस्ट घटकहरू एक ठाउँमा आउनुपर्ने बाध्यता छ। केही दिनमै सकारात्मक नतिजा आउने अपेक्षा छ।’

समानुपातिक बन्दसूची मिलाउन माओवादीका महासचिव विप्लव लगायत शीर्ष नेताहरू काठमाडौंमै रहेका छन्। विप्लव आफैं वार्तामा अगाडि रहेका छन् भने नेकपाबाट संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’का विश्वास पात्र वार्तामा संलग्न छन्।

केही दिनअघि विप्लव र नेकपाका नेता कृष्णबहादुर महराबीच खुमलटारमा छलफल भएको थियो। विप्लवले २०७९ सालमा महराकै पहलमा समाजवादी मोर्चामा सहभागी भएका थिए। तत्कालीन माओवादी केन्द्रसँग पार्टी एकता गर्ने सहमति नजिक पुग्दा पनि प्रचण्डकै कारण सफल नभएको उनीहरूले आरोप लगाएका थिए। विप्लवको सचिवालयले भने पार्टी एकता विषयमा छलफल नभएको तर देशी–विदेशी प्रतिक्रियावादी शक्तिले कम्युनिस्टलाई कमजोर पार्न खोज्ने अवस्थाको सामना गर्दै सबै वामपन्थी घटकबीच सहकार्यको आवश्यकता बारे मात्र कुरा भएको स्पष्ट पारेको छ।

माओवादी स्थायी समिति सदस्य सन्तोष बुढामगरले चुनावी तालमेल, सहकार्य र एकताको विषयमा नेकपाका नेतासँग छलफल भएको स्वीकार गरेका छन्। यद्यपि छलफलले अहिलेसम्म निष्कर्ष पाएको छैन। उनले भने, ‘हामी सबै वामपन्थी र कम्युनिस्ट घटक एक भएर अघि बढ्ने पक्षमा छौँ। सकेसम्म सहकार्य र तालमेलमा अघि बढ्ने प्रयास जारी छ, नभए आफ्नै हिसाबले अगाडि बढ्ने तयारी छ।’

पुस १३ गते नेकपा संयोजक प्रचण्डले केन्द्रीय कार्यालय पेरिसडाँडामा केही दलसँग पार्टी एकताका लागि तयारी अघि बढाएको बताएका थिए। त्यसको भोलिपल्ट रञ्जिता श्रेष्ठ नेतृत्वको नागरिक उन्मुक्ति पार्टीसँग पार्टी एकताका लागि सहमतिमा हस्ताक्षर पनि भएको थियो।

राजनीतिक दलहरूले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूची संशोधनका लागि पुस २१ देखि २७ गतेसम्म समय दिइएको छ। यस अवधिमा सकेसम्म पार्टी एकता वा सहकार्यमार्फतै अघि बढ्ने विषयमा वार्ता केन्द्रित रहेको छ। प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता माघ ६ गते तय गरिएको छ।

स्रोतका अनुसार, कालिकोटबाट नेकपाले प्रचण्डको एकल नाम सिफारिस गरेर पठाएको उद्देश्य पनि दुवै पार्टीबीच सहमति भए चुनावी तालमेल सम्भव हुने गरी रणनीति बनाएको हो। कालिकोट माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विप्लव एकता प्रक्रियामा आए आफू त्याग गर्न तयार रहेको बताएका छन्।

प्रकाशित मिति: १८ पुस २०८२, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com